Logo

वैदेशिक व्यापार घाटा : भारतसँग घट्दा चीनसँग ३४ प्रतिशतले बढ्यो

वैदेशिक व्यापार घाटा : भारतसँग घट्दा चीनसँग ३४ प्रतिशतले बढ्यो



काठमाडौं । नेपालले गएको आर्थिक बर्ष २०८०/८१ मै १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । यो व्यापारघाटा अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा भने १ प्रतिशतले कम हो । अर्थात उक्त आर्थिक बर्ष नेपालले १४ खर्ब ५४ अर्ब ४५ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।

नेपालले गर्ने वैदेशिक व्यापारमा सबैभन्दा ठुलो हिस्सा छिमेकी राष्ट्र चीन र भारतको रहँदै आएको छ । तर, गत आर्थिक बर्ष समग्र वैदेशिक व्यापार घाटामा केहि गिरावट आउँदा छिमेकी चीनसँग भएको व्यापारघाटा भने उल्लेख्य बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले गएको आवमा चीनसँग मात्रै २ खर्ब ९६ अर्ब १८ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा ३४ प्रतिशतले बढी हो । अघिल्लो आवमा नेपालले चीनसँगको वैदेशिक व्यापारमा २ खर्ब २० अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको थियो ।

यसै अवधिमा अर्काे छिमेकिीदेश भारतसँग भने नेपालको व्यापारघाटा केहि घटेको छ । गत आवभरी भारतसँग नेपालले गरेको वैदेशिक व्यापारमार्फत नेपालले ८ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहार्याे । यो अघिल्लो आर्थिक बर्षको तुलनामा भने ३ प्रतिशतले कम हो । अघिल्लो आवमा नेपालले भारतसँग ९ खर्ब २१ अर्ब रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।

गत आर्थिक बर्ष अघिल्लो आवको तुलनामा नेपालको कुल निर्यात ३.० प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ३.३ प्रतिशत र ४.३ प्रतिशतले घटेको छ भने चीनतर्फ भएको निर्यात ४६.६ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिष्टर धागो, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
गत आर्थिक बर्षमा कुल वस्तु आयात १.२ प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.० प्रतिशत र १७.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

प्रतिक्रिया दिनुहोस्