काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रशासनिक हिसावले आयातमा मात्रै मूल्य अभिवृद्धिकर (भ्याट) लगाउन जटिल भएकाले आलु, प्याज र स्याउमा भ्याट हटाईएको बताएका छन् । आगामी आर्थिक बर्षको बजेटमाथिको छलफलमा सांसदहरुका प्रश्नको जवाफ दिँदै बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले करका दरमा समसामयिक बनाउन सामान्य रूपमा परिमार्जन तथा थपघट गरिएको बताएका हुन् ।
‘गत वर्ष आलु, प्याज र स्याउ लगायतका तरकारी एवं फलफूलमा मूल्य अभिवृद्धि कर लगाइएकोमा प्रशासनिक हिसाबले आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल भएको र आन्तरिक उत्पादनमा समेत मूल्य अभिवृद्धि कर लागेकोले आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाइ आयातमा अग्रिम आयकर लिने व्यवस्था गरिएको हो,’ उनले भने । यस्तै उनले साविकमा भन्सार ऐन र नियमावलीमा भएका व्यवस्थालाई समेटी भन्सार महसुल ऐन आर्थिक ऐनकै अंगका रुपमा पेश गरिएको बताएका छन् ।
छुट्टै भन्सार महसुल ऐन तर्जुमा गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। यसबाट भन्सार प्रशासनको काममा थप दक्षता अभिवृद्धि हुने उनको भनाई छ । भन्सार प्रशासनको काम कारवाहीमा सहजता र प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले भन्सार महसुल दर तोक्ने र हेरफेर गर्ने विषय समावेश गरी छुट्टै नयाँ भन्सार महसुल विधेयक पेश गरिएको हो।