Logo

अर्थमन्त्री डा. महत र आईएफसी उपाध्यक्षबीच भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल

अर्थमन्त्री डा. महत र आईएफसी उपाध्यक्षबीच भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल



मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता भएको छ । मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. महत र रिकार्डोबीच नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको हो ।

उक्त बैठकमा निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तीय उपकरणहरू (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना विकास गर्न आइएफसिले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ । अर्थमन्त्री डा. महतले नविनतम वित्तीय उपकरणहरूमार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पूँजी आकर्षित गर्न आईटी, कृषि–व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरू जस्ता क्षेत्रमा लगानी विविधिकरण गर्न नवीन वित्तीय उपकरणहरू परिचालन गर्नुपर्ने बताए ।

खासगरी अर्थमन्त्री डा. महतले विदेशी विनिमय जोखिमको कारणले आइएफसीमार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्युनिकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आएएफसीले आइडिएको सहुलियत विन्डो (निजी क्षेत्र विन्डो) लाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्न साथै इक्वीटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नु पर्ने बताए । बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसदमा पेश गर्न लागेको जानकारी गराउदै कर्जा सूचना व्यवस्थापन सम्बन्धी कानून निर्माणमा आएएफसीको चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै स्थानीय मुद्रामा आधारित बन्डमार्फत थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा जानकारी गराएका थिए । अर्थमन्त्रीले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण बिषय समावेश हुने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमार्फत बाह्य पुँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानूनी आधार रहेको बताउँदै नेपाल राष्ट्र बैंकले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
आइएफसीका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रबद्र्धधनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको विषयमा सह्राना गर्दै गरेका थिए । उक्त अवसरमा अर्थमन्त्री महतको आइएमएफ तथा विश्व बैंक दक्षिण पूर्व एसिया क्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र याटी कुर्नियाटीसंग द्धिपक्षीय हितका विषयमा वार्ता सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्
MBL