Logo

अर्थतन्त्रलाई डिप डिप्रेसनमा जानबाट रोक्न समयमै सोच्नुपर्नेछ : उद्योग परिसंघ

अर्थतन्त्रलाई डिप डिप्रेसनमा जानबाट रोक्न समयमै सोच्नुपर्नेछ : उद्योग परिसंघ



काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामनासहित अर्थतन्त्रका विषयमा छलफल गरेको छ । विहिबार परिसंघ सचिवालयमा आयोजित बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सेजन अध्यक्ष सुजन ओलीसहित कार्यसमिति सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

सो अवसरमा उनले मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेको बताए । विदेशी मुद्रा संचितीमा दबाब पर्दा लिइएको नीति, कोभिड १९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको उनले बताए ।

आर्थिक मन्दीका कारण उद्योग व्यवसायी, सरकारलगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेको बताउँदै उनले अर्थतन्त्रलाई चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्नेमा जोड दिए । उनले अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गरिनुपर्ने बताए । ‘अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ’, उनले भने । अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पूँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी दिनुपर्ने उनले बताए । यसैगरी राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना र पुनर्कर्जाको पैसा दिनुपर्ने बताए ।

सेजनका नवनिर्वाचित अध्यक्ष ओलीले व्यवसायिक वातावरण बनाउन काम गर्नुपर्ने बताए । सेजन नीतिगत सुधारमा लागेको भन्दै कानून तथा नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्न सकिने उनको भनाई थियो ।
सो कार्यक्रममा परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, भीम घिमिरे, परिसंघ पदाधिकारी सदस्य गोकुल भण्डारी, सन्दिप सारडालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्