काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले आगामी मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बताएका छन्। उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले घर जग्गा व्यवसाय र सेयर बजारलाई पनि चलायमान बनाउने योजना ल्याउने बताए।
काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सिवाकोटीले घर जग्गा धितोको कर्जा सीमालाई ५० प्रतिशतसम्म बनाउन सकिने बताए । उनले हाउजिङमा उपत्यकामा ३० प्रतिशत र बाहिर ४० प्रतिशत ऋण दिने व्यवस्था रहेको र त्यसलाई ४० र ५० प्रतिशत पुर्याउन संकेत दिएका छन् । त्यसले अर्थतन्त्र चलायमान बनाउने उनको दावी छ।
उनले विश्व बैंक र आईएमएफले मौद्रिक नीति कसिलो ल्याउन भनेको पनि स्वीकार गरे । उनी भन्छन्, ‘अन्तरराष्ट्रिय दातृ निकायले कसिलो मौद्रिक नीति ल्याउन भनिरहेका छन् । तर, उनीहरुले भनेअनुसारको कसिलो मौद्रिक नीति आउँदैन । हामीले राष्ट्रिय परिवेश पनि हेर्छौं । रोजगारी र उत्पादन वृद्धि गर्ने काम सरकारको हो । हामीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहका लागि वातावरण बनाउँछौं ।’
सिवाकोटीले राष्ट्र बैंकले भनेको बैंकहरुले नमान्दा सहुलियतपूर्ण कर्जा बिस्तार हुन अप्ठ्यारो अवस्था आएको बताए । कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकले बनाएको नीति बैंकहरुले नमान्दा सहुलियतपूर्ण कर्जा वितरणमा समस्या आएको बताएका हुन् । उनी भन्छन, ‘राष्ट्र बैंकले बैंकहरुलाई स्पस्ट रुपमा सहुलियतपूर्ण कर्जा दिन भनको छ । तर,बैंकले धितो खोजेको कारण यस्तो कर्जा प्रभावकारी भएको छैन।’