Logo

चालु आवको दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक, खानी तथा उत्खनन् क्षेत्रमा धेरै गिरावट

चालु आवको दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक, खानी तथा उत्खनन् क्षेत्रमा धेरै गिरावट



काठमाडौं । चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो ।

केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको आर्थिक वृद्धिदर अनुमान हेर्दा पहिलो त्रैमास (साउन, भदौ र असोज) मा शून्य दशमलव ३४ र दोस्रो त्रैमास (कात्तिक, मङ्सिर र पुस) मा शून्य दशमलव ७३ प्रतिशतले ऋणात्मक देखिएको हो ।

तथ्याङ्क कार्यालयले लगानी, उपभोग, बचतलगायतका आर्थिक सूचक हेरेर कूल गार्हस्थ्य उत्पादन अनुमान गर्दै आएको छ । त्रैमासिक कूल गार्हस्थ्य उत्पादनको अनुमान तयार गर्दा मौसमी प्रभाव विश्लेषणसहित र मौसमी प्रभाव विश्लेषणविना गरी दुई प्रकारका तथ्याङ्क निकालिएको केन्द्रय तथ्याङ्क कार्यालयले जनाएको छ । मौसमी प्रभाव विश्लेषणविनै गरिएको आर्थिक वृद्धिदर भने एक दशमलव एक प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान गरिएको छ ।

तथ्याङ्क कार्यालयका अनुसार खानी तथा उत्खनन, उद्योग, निर्माण, व्यापार, यातायात तथा गोदाम क्षेत्रको वृद्धिदरमा ठूलो गिरावट देखिएको छ । ‘निर्माण क्षेत्रमा सबैभन्दा कम २० दशमलव छ प्रतिशतले उत्पादनमा कमी हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण सामग्रीको आन्तरिक उत्पादन र आयातमा आएको गिरावटका साथसाथै निर्माण क्षेत्रमा भएको शिथिलताले यस क्षेत्रमा नकारात्मक असर परेको देखिन्छ’, केन्द्रीय तथ्याङ्क कार्यालयले भनेको छ, ‘त्यसैगरी खानी तथा उत्खनन १६ दशमलव चार, व्यापार ९ दशमलव सात, यातायात ५ दशमलव ५ र औद्योगिक उत्पादनमा चार दशमलव तीन प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान गरिएको छ ।’

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक र अघिल्लो वर्षको दोस्रो त्रैमासिकबीच क्षेत्रगत तुलना गर्दा सबैभन्दा बढी आर्थिक वृद्धिदर आवास र भोजन सेवामा २० दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । पर्यटकको आगमनमा भएको सुधारात्मक वृद्धिले यस क्षेत्रमा प्रत्यक्षरुपमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

वित्तीय तथा बीमासम्बन्धी क्षेत्रको वृद्धिदर १४ प्रतिशत र विद्युत् क्षेत्र आठ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा छ दशमलव तीन र सार्वजनिक प्रशासन सेवाको क्षेत्रमा पाँच दशमलव सात प्रतिशतले उत्पादन वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।

‘मौसमी प्रभाव समायोजित त्रैमासिक सूचकाङ्क हेर्दा चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिभन्दा दोस्रो त्रैमासिक अवधिमा कूल २१ प्रकारका उद्योगमध्ये पाँचको वृद्धिदर ऋणात्मक हुने र बाँकी उद्योगको उत्पादनमा धनात्मक रहने प्रारम्भिक अनुमान गरिएको छ’, केन्द्रीय तथ्याङ्क कार्यालयले भनेको छ ।

वित्तीय तथा बीमासम्बन्धी क्रियाकलापमा सबैभन्दा धेरै चार दशमलव सात प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी स्वास्थ्य, शिक्षा र कृषिका क्षेत्रमा क्रमशः दुई दशमलव तीन, दुई दशमलव दुई र एक दशमलव छ प्रतिशतले वृद्धि हुने अनुमान छ । अर्कोतर्फ सोही अवधिमा खानी तथा उत्खननका क्षेत्रमा सबैभन्दा कम १८ दशमलव पाँच प्रतिशतले उत्पादनमा कमी हुने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसपछि आवास तथा भोजन सेवा, औद्योगिक उत्पादन, निर्माण, व्यापार र यातायातका क्षेत्रमा क्रमशः छ दशमलव छ÷छ दशमलव दुई, छ दशमलव एक, चार दशमलव तीन र चार दशमलव एक प्रतिशतले अघिल्लो त्रैमासिकको तुलनामा कमी हुने अनुमान गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL