Logo

मौद्रिक नीतिलाई खुकुलो बनाई अर्थतन्त्र सहज बनाउनुपर्छ : अर्थमन्त्री डा. महत

मौद्रिक नीतिलाई खुकुलो बनाई अर्थतन्त्र सहज बनाउनुपर्छ : अर्थमन्त्री डा. महत



काठमाडाैं । अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष ०८०–०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले शिथिलताकै कारण अर्थतन्त्रमा समस्या निम्तिएको बताए । यसको बारेमा निजी क्षेत्रलाई राम्रो जानकारी रहेको पनि उनको भनाई थियो ।

‘अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति हो, ‘मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ,’ उनले कार्यक्रममा बोल्दै भने, ‘राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार छ । एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गरियो । कति कसिकसाउ गर्नुपर्ने पर्थ्याे, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो ।’
उनले मौद्रिक नीतिलाई अहिले खुकुलो गर्न जरुरी रहेको बताए ।

यसको बारेमा राष्ट्र बैंकको नेतृत्वलाई भनिसकेको पनि उनले बताएका छन् । ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । व्याजदरले बजारमा पूँजी प्रवाह भइरहेको छैन । मौद्रिक नीतिमार्फत बजारमा पूँजी प्रवाह गर्न जरुरी छ । यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्न जरुरी रहेको मन्त्री डा. महतको भनाइ छ ।

उनले ‘बजेटको निक्कै नजिक अर्थमन्त्री भएर आउँदा अर्थतन्त्रमा देखिएका समस्याका धेरै पाटा र चाङ समाधानमा समय नपुगेको बताए । समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर दाबी गर्न नसकिएपनि समस्या समाधानमा आफ्नो इमान्दार कोसिस हुने उनको भनाई छ ।

‘‘यो एउटा गाडी कुदेजस्तै हो, गाडीमा, स्टेरिङ राम्रो भएर मात्र पुग्दैन, पाङग्रा वा अन्य सामाग्री मात्र राम्रो भएर पुग्दैन, यसमा सबैले आ–आफ्नो जिम्मेवारी एक साथ पूरा गर्याे भने मात्र गाडी गन्तव्यमा पुग्न सक्छ,’ उनले भने, ‘देश चलाउन पनि सम्पूर्ण संयन्त्र एकाकार भएर अघि बढ्नुपर्छ । एउटै लक्ष्य छ, सबैको आ–आफ्नो जिम्मेवारी छन्, यो जिम्मेवारी पूरा गर्ने मान्यताका साथ लाग्यौं भने हामी लक्ष्यमा पुग्छौं ।’

उनले राज्य संयन्त्रमा समस्याहरु छन्, यी समस्यालाई सम्बोधन गर्न र छन् भनेर स्वीकार गर्न आफुलाई कुनै हिचकिचावट नभएको बताए । समस्यालाई हटाउने सुरुवात गर्न जरुरी रहेको उनको भनाई छ । ‘

प्रतिक्रिया दिनुहोस्
MBL