Logo

महासंघ उपाध्यक्ष बैद्यले भने, ‘अहिलेको बैंकिङ समस्याले व्यवसायी मारमा परेका छन्, ब्याजदर घटाउनुको विकल्प छैन’

महासंघ उपाध्यक्ष बैद्यले भने, ‘अहिलेको बैंकिङ समस्याले व्यवसायी मारमा परेका छन्, ब्याजदर घटाउनुको विकल्प छैन’



काठमाडौं । उद्योगी व्यवसायी माथि परेको बैंकिङ समस्या तत्काल समाधान नभए धेरै उद्योगी व्यवसायीहरु पलायन हुने नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले बताए । ‘अहिले साना, घरेलु तथा मझौला उद्योगी व्यवसायीहरुको समस्या एकदमै जटिल बन्दै गएको छ भने जिल्ला नगरका उद्यमी व्यवसायीको अवस्था एकदमै दयनीय बनेको छ,’ झापा उद्योग वाणिज्य संघको ५४ औं साधारणसभामा प्रखुम अतिथिको रुपमा बोल्दै उनले भने, ‘जिल्ला नगरका साथिहरु आफ्ना समस्या लिएर सडक अन्दोलनमा उत्रदा पनि सरकारले नसुनिरहेको अवस्था छ अब महासंघ नेतृत्वले छलफलको माध्यमबाट उक्त समस्या समाधान गर्नेछ ।’ साथै अहिलेको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुर्नतालिकिरण र सरकारले ब्याजमा सहुलियत दिएर अर्थतन्त्रमा ७० प्रतिशभन्दा योगदान दिँदै आएको उद्योगी व्यवसायीलाई जोगाउनु पर्ने उनको भनाई थियो ।

यसैगरी महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षमा उठ्दै गर्दा पनि जिल्ला नगर उद्योग वाणिज्य संघलाई केन्द्रसँग जोडेर महासंघको अपनत्व दिने प्रतिवद्धता गरेको जानकारी दिँदै अबका दिनमा उक्त कामको थालनी हुने उनले बताए । ‘महासंघको ५७ औं वाणिज्य साधारणसभार्फत अध्यक्ष ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएर आएको छ,’ उनले भने, ‘जिल्ला नगरका साथीहरु अब ढुक्क हुनुस महासंघले तपाईहरुको समस्या र एजेन्डा बोकेर सरकारसँग लविङ गर्नेछ ।’

यसैगरी सरकारले भर्खरै मात्र निजी क्षेत्रलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने गरी कानून निर्माण प्रक्रिया अधि बढाएकोमा महासंघले त्यसको विरोध गर्दै प्रधानमन्त्री देखि हरेक निकायमा जानकारी गराईसकेको बताए । ‘हामी निर्वाचत भएर आएसँगै अख्तियारको विषय लिएर, राष्ट्रपति, प्रधानमन्त्री देखि लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, सरकारमा सम्मिलित सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादूर देउवादेखि हरेक निकायहरुमा यसको विरोध गर्दै लागू गर्न नहुने विषय जानकारी गराईसकेका छौं,’ उनले भने, ‘यो व्यवसायीक हितको विरुद्धमा छ महासंघले यसलाई रोक्छ ।’

यसैगरी अहिले सरकारले कोल्ड स्टोर तथा डेरी उद्योगमा विद्युत महसुलमा ५० प्रतिशत छुट दिँदै आएकोमा अहिले उक्त सुविधा कटौती भएको भन्दै यसलाई समेत निरन्तरता दिनुपर्ने बताए । ‘हामीले बार्षिक अरबौं रुपैयाँका कृषि उपज आयात गर्दै आएका छौं,’ उनले भने, ‘यदि नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने हो भने दिँदै आएको सुविधा कटौती होइन प्रोत्साहन स्वरुप अझै नयाँ नयाँ सुविधा दिनु जरुरी छ ।’ साथै विद्युत महसुलमा दिँदै आएको सुविधालाई निरन्तरता दिन महासंघले सम्बद्ध निकायसँग पहल गर्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL