Logo

राजस्व चुहावट नियन्त्रणमा गृह र अर्थको समन्वय, राजस्व संकलनमा कडा कदम चालिने

राजस्व चुहावट नियन्त्रणमा गृह र अर्थको समन्वय, राजस्व संकलनमा कडा कदम चालिने



काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि गृह र अर्थमन्त्रालयले सहकार्य गर्ने भएका छन् । राजस्व संकलनको विद्यमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री प्रकाश शरण महतले संयुक्त बैठकमा उक्त कुरा बताईएको हो ।

सोबार आयोजना गरिएको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा दुबै मन्त्रीले आफनो आफ्नो स्थानबाट राजस्व संकलनमा प्रतिवद्ध भएर लाग्न सम्बद्ध कर्मचारीलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजना गरिएको उक्त बैठकमा अर्थ सचिव, सचिव (राजस्व), गृह सचिव, सुरक्षा निकायका प्रमुख, राजस्व प्रशासन सम्बद्ध विभागका महानिर्देशकलगायतको उपस्थिति थियो । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजस्व चुहावट नियन्त्रण गर्न गृह मन्त्रालयको संयन्त्रलाई प्रभावकारीरुपमा परिचालन गरिने बताए । उनले स्वार्थरहित भई आ–आफ्नो जिम्मेवारी बहन गर्न सम्बद्ध अधिकारीहरुलाई निर्देशनसमेत दिएका छन् । कर्मचारीहरुलाई कुनै राजनैतिक दबाब र प्रभावमा नपरी ढुक्कसँग उच्च मनोबलका साथ कार्य गर्न उनले निर्देशन दिएका हुन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व संकलन अत्यन्तै चुनौतीपूर्ण घडीमा रहेको हुँदा सबैले आ –आफनो जिम्मेवारी अनुरुपको कार्य इमान्दारीतापूर्वक सम्पादन गर्नुपर्ने बताएका छन् । राजस्व संकलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न सबै प्रकारका राजस्व चुहावट नियन्त्रणका लागि समन्वयात्मक रुपमा अधिकतम् प्रयास केन्द्रित गर्न उनले निर्देशन दिए । अर्थ मन्त्रालय र सुरक्षा निकाय विच प्रभावकारी समन्वय कायम गर्दै स्थानीय संयन्त्रलाई सक्रिय बनाई राजस्व परिचालनलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाई थियो । यसका लागि राजनैतिक नेतृत्वबाट आवश्यक पर्ने सबै किसिमको सहयोग उपलब्ध हुने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्