काठमाडौं । सरकारले प्रत्यक्ष वैदेशिक लगानीको सीमा घटाएर २ करोड रुपैयाँमा झारेसँगै निजी क्षेत्र असन्तुष्ट बनेका छन् । साना लगानी गर्न नेपालका निजी क्षेत्रनै सक्षम भएको भन्दै नेपालमा सोही अनुरुपमा लगानी आवश्यक नभएको निजी क्षेत्रको धारणा छ ।
सरकारले प्रत्यक्ष वैदेशिक लगानीको सीमा घटाएसँगै नेपाल उद्योग वाणिज्य महासंघका द्विराष्ट्रिय तथा एनआरएन फोरमका सभापति देशबन्धु बस्नेत (अजित)ले लगानीको सीमा घटाउँदैमा देशमा सोचे अनुरुप वैदेशिक लगानी नभित्रने बताएका छन् । ‘उद्योग विभागको तथ्यांक हेर्ने हो भने यसअघि पनि नेपालमा वैदेशिक लगानीको प्रतिवद्धताहरु धेरै नै आएका छन्,’ उनले भने, ‘प्रतिवद्धता अनुसार देशमा कि वैदेशिक लगानी भित्र्न सकेन सरकारले त्यस विषयमा अन्ययन अनुसन्धान गर्नु जरुरी छ ।’
नेपालमा एक पटक लगानी गर्न आएका विदेशी लगानीकर्ताहरु अपवाद बाहेर पुनः दोहोर्याएर लगानी गर्न नआएको जानकारी दिँदै के कारणले विदेशी लगानीकर्ता नेपालमा आकर्षित हुन सकेनन् सो सम्बन्धमा विस्तृत अध्ययन हुनुपर्ने उनको भनाई थियो । साथै नेपालमा वैदेशिक लगानीको प्रतिफल र लगानीनै फिर्ता लैजान झण्झटिलो प्रक्रिया रहेको भन्दै त्यसलाई समेत सहज बनाउनु पर्ने बस्नेतले जानकारी दिए ।
अहिले सरकारले वैदेशिक लगानीको सीमा ५ करोड रुपैयाँबाट घटाएर २ करोड रुपैयाँमा झारेसँगै त्यसरी सानो आकारमा भित्र्ने रकम कुन क्षेत्रमा लगानी गर्ने हो सो सम्बन्धमा स्पष्ट कार्यबिधी बनाउनु पर्ने बताए । ‘सरकारले जसरी विदेशी लगानीको सीमा घटाएको छ त्यसलाई पनि म नराम्रो त भन्दिन,’ उनले भने, ‘तर त्यसरी सानो आकारमा आउने रकम देशको कुन क्षेत्र र कुन व्यवसायमा लगानी गर्ने सो सम्बन्धमा स्पष्ट हुनुपर्छ ।’
विशेषगरी सरकारले त्यसरी सानो आकारमा ल्याउने प्रत्यक्ष वैदेशिक लगानीलाई देशका विकट हिमाली क्षेत्रलाई लक्ष्ति गरी भित्र्याउनु पर्ने बताए । ‘काठमाडौंमा २ करोड रुपैयाँको लगानी ज्यादै न्यून हुन सक्छ तर त्यहि रकम विकट हिमाली जिल्लामा उद्योग खोल्नका लागि ठूलो हुन सक्छ,’ उनले भने, ‘तसर्थ सरकारले त्यसरी भित्र्ने रकमलाई क्षेत्र र व्यवसाय तोकेर भित्र्याउनु पर्छ ।’