Logo

महङ्गी बढ्दा नेपाली उद्योग बन्द हुने अवस्थामा, औद्योगिक क्षेत्रको अघोषित लोडसेडिङ हटाउन महासंघ प्रदेश १ को माग

महङ्गी बढ्दा नेपाली उद्योग बन्द हुने अवस्थामा, औद्योगिक क्षेत्रको अघोषित लोडसेडिङ हटाउन महासंघ प्रदेश १ को माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ हटाउन माग गरेको छ । ‘विद्युत प्राधिकरणको घाटालाई न्यूनिकरण गर्ने नाममा उद्योग माथि नै थप भार व्यहोर्ने गरी मात्र विद्युत आपूर्ति गर्ने नेपाल विद्युत प्राधिकरणको नीति व्यवहारिक देखिदैन,’ महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘अतः स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धन गर्न नेपाल विद्युत प्राधिकरणबाट उद्योग क्षेत्रमा गरिएको अघोषित लोडसेडिङ अविलम्ब खारेज गरी उद्योग क्षेत्रमा नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’

साथै बढ्दो बैंकिङ तरलता, कर्जाको व्याज दरमा वृद्धि, उच्च ब्याजदरमा पनि बैंकबाट ऋण प्रवाह नहुनु आदि कारणबाट उद्योगी व्यवसायीहरु संकटमा परेको महासंघले जनाएको छ । साथै पछिल्लो समय रुस र युक्रेनको युद्धबाट देशको अर्थतन्त्र थप संकटमा पर्न गएको समेत अध्यक्ष ढकालले जानकारी दिए ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ लगायतमा समेत अत्यधिक मूल्य वृद्धि हुन जादा उद्योगी व्यवसायीहरुका साथै उपभोक्ता समेत त्रसित हुन पुगेका छन् । अहिलेको विषम परिस्थितीमा नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत खरिद गरी आपूर्ति गर्न महङगो हुने र प्राधिकरण नोक्सानीमा जाने कारण देखाई औद्योगिक प्रयोजनमा खपत हुने विद्युतमा १२ घण्टाको अघोषित लोडसेडिङ गरेपछि उद्योगहरुमाथि झन ठूलो बज्रपात पर्न गएको ढकालले जानकारी दिए ।

‘सरकारले विद्युत खपत बढाउन उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि विद्युत प्राधिकरणप्रति विश्वस्त भई सबैजसो ठूला उद्योगहरुले करौडौंको थप लगानी गरेका थिए,’ उक्त विज्ञप्तीमा भनिएको छ, ‘तर प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गर्दा उद्योग व्यवसाय धारासायी हुनुका साथै राज्यका लागि पनि ठूलो नोक्सानी हुने छ ।’ साथै महङगो डिजल किनेर उद्योग संचालन गर्दा स्वदेशी उद्योगहरुले आयातित वस्तुमा प्रतिस्पर्धा गर्न नसकि उद्योग नै बन्द गर्नु पर्ने अवस्था आउने समेत ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL