Logo

निक्षेपको ब्याजदर वृद्धिमा चेम्वरको गम्भीर ध्यानाकर्षण, भन्यो-यसले अर्थतन्त्रनै समस्याग्रस्त हुन्छ

निक्षेपको ब्याजदर वृद्धिमा चेम्वरको गम्भीर ध्यानाकर्षण, भन्यो-यसले अर्थतन्त्रनै समस्याग्रस्त हुन्छ



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आजबाट लागू हुनेगरी निक्षेपको ब्याजदर बृद्धि गरेसँगै नेपाल चेम्वर अफ कमर्सले गम्भिर ध्यानाकर्षण गराएको छ । आयातित वस्तुहरुमा एलसीबाट हुने कारोवारमा शतप्रतिशत नगद मार्जिन राख्नु पर्ने प्रावधानले व्यावसायीक क्षेत्रलाइ चुनौति सृजना भइ रहेको अवस्थामा हाल आएर निक्षेपमा दिइने ब्याजदर वृद्धिले थप चुनौति सृजना भएकोे भन्दै ध्यानाकर्षण गराएको हो । साथै यसले सम्पूर्ण निजीक्षेत्र आफ्नो व्यवसाय संरक्षण गर्न नसक्ने अवस्था पुगेको जानकारी दिएको छ ।

‘कोभिड १९ को महामारीले सवै उद्यमी व्यवसायीहरु घरेलु, साना, मझौला तथा ठूला उद्योगहरु आक्रान्त भएको वेला व्यवसायिक गतिविधीलाई शिथिल बनाउने गरी ल्याइएको व्याजदर वृद्धिले बंैक वित्तीय संस्थालाई मात्रै फाईदा पुग्ने भएको छ,’ चेम्बरद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आयातलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्नु पर्ने र रेमिटान्सको चुहावटलाइ रोक्नु पर्ने बेलामा व्यवसायलाइ प्रतिकूल हुने गरी लागू गरिएको बैंकिङ तथा मौद्रिक नीतिले आपूर्तिमा थप समस्या निम्त्याउने, तथा कालान्तारमा यसले बस्तुहरुको उपभोग्य मुल्य बढाउने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भइ निर्यात उद्योग धराशायी हुने र राजश्वमा समेत प्रतिकूल असर पर्ने भएकाले यस तर्फ समयमै केन्द्रीय वैंकको ध्यानाकर्षण हुन अति जरुरी छ ।’

साथै ब्याजदर वृद्धिबाट दीर्घकालीन रुपमा मुलुकको अर्थतन्त्रलाइनै समस्याग्रस्त पार्ने र तरलता समस्या समाधानका वैकल्पिक उपाय रहेको भन्दै ब्याजदर वृद्धिमार्फत तरलताको दीर्घकालीन समाधान नहुने निष्कर्ष निकालेको छ । साथै नेपाल सरकारले पुँजीगत खर्च वढाउन कडा कदम चाल्नु पर्ने भन्दै नयाँ ब्याजदर कार्यान्वयन नल्याउन चेम्बरको माग छ ।

प्रतिक्रिया दिनुहोस्
MBL