Logo

अर्थमन्त्रीको निष्कर्ष : पुँजी नेपालभित्रै छ, झण्झटिलो नीतिले लगानी आउन सकेन

अर्थमन्त्रीको निष्कर्ष : पुँजी नेपालभित्रै छ, झण्झटिलो नीतिले लगानी आउन सकेन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबैलाई उत्साहित बनाउने नीति बनाउँदा लगानीका लागि नेपालभित्रै पुँजी धेरै रहेको बताएका छन् । हरेक व्यक्तिसँग रहेको पैसालाई एकीकृत गर्न सक्दा ठूलो पुँजीको निर्माण हुने भन्दै हाल ग्रामीण क्षेत्रमा पनि पुँजी छरिएर रहेको उनको भनाई थियो ।

नेपालको विकास नहुनुमा पुँजी अभावभन्दा पनि बुझाइ कारक रहेको जानकारी दिँदै विकासका लागि सबैको बुझाईमा परिवर्तन हुनुपर्ने उनले बताए । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आयोजना गरेको स्टेकहोल्डरहरूको भेटघाट तथा निफ्राको आगामी रणनीतिक यात्रा बारे छलफल कार्यक्रममा उनले विकासमा स्पष्ट धारणा नहुँदा विकासले गति लिन नसकेको र अबका दिनमा सरकारले पनि आफ्नो धारणा स्पष्ट बनाउनुपर्ने बताए ।

यसैगरी सरोकारवाला सबैले विकासका बारे सकारात्मक धारणा निर्माण गर्नुपर्ने उनको बुझाई छ । ‘नेपालको सन्दर्भमा विकास गर्न पुँजीको समस्या होइन भन्ने मेरो धारणा छ । समस्या बुझाइको हो’, उनले भने, ‘हामीले विकास सम्बन्धी धारणा स्पष्ट बनाउन जरुरी छ । स्पष्ट धारणा भनेको सरकारकै हुनुपर्याे, समाजको हुनुपर्याे, लगानीकर्ताको हुनुपर्याे, निजी क्षेत्रको हुनुपर्याे । यहाँ त्यो स्पष्ट धारणाको अभाव छ ।’ स्पष्ट धारणासँगै काम गर्ने इच्छाशक्ति र दूरदृष्टि हुनुपर्ने उनको भनाई छ ।

त्यसरी ग्रामीण क्षेत्रमा रहेको पुँजीलाई समेत लगानीका लागि आकर्षित गर्ने नीति निर्माण गर्नुपर्ने उनको भनाई थियो । साथै विद्यमान नीति नै ढिलासुस्ती किसिमको रहेकाले नीति निर्मातामा पहिले विचार परिवर्तनको आवश्यकता रहेको बताए । विकासको सोँच नहुँदा समस्या भएको भन्दै विकासका लागि पुँजी, ज्ञान, प्रविधिसँगै नीति समेत आउने भएकाले नीति सरल र सहज हुनुपर्ने बताए । ‘नीतिहरू नै विकासलाई ढिलो गर्ने खाल्का बनेका छन्,’ उनले भने, ‘हाम्रा यस्ता पनि नीति छन् जुन सरकारको एउटा योजनाका लागि वन मन्त्रालय लगायत अन्यसँग स्वीकृति लिनुपर्छ । रुख काट्न विद्युत प्राधिकरणले दुई वर्ष स्वीकृतिका लागि कुर्नुपर्ने अवस्था पनि छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL