Logo

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते काठमाडौंमा आयोजना गरिने भएको छ ।

निर्धारित कार्यक्रम अनुसार गत चैत्रमा हुनुपर्ने साधारणसभा कोभिड–१९ का कारणले तीन-तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।

महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो । ‘बिहीबार बसेको कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ’, महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने।

यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा श्रव्य दृश्य माध्यमबाट र निर्वाचनका कार्यक्रमहरु काठमाडौमा गर्नका लागि सिफारिस गरेको थियो ।

त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेकोले अवस्था छ ।

सरकारबाट अनुमती लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पुरा गर्ने र अब उपरान्त कोभिड १९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन गत चैत्र २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड–१९ का कारणले देश पूर्ण रुपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो ।

पछि गत जेष्ठ ७ र ८ गते र गत साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा जारी लकडाउन तथा निषेधाज्ञाले साधारणसभा हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL