विश्व नै अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुधिरहेको छ । कोरोनाको कारण पछिल्लो समय नेपाल पनि प्रभावित भएको छ र हामी सम्पूर्ण नेपाली अहिले ५ हप्तायता लकडाउनमा छौं । यो अवधिमा संसारभर कोरोना भाइरससम्बन्धमा विभिन्न चर्चा–परिचर्चा र बहसहरु भएका छन् । जसले सकारात्मक र नकारात्मक दुवै असर पारेको छ । जसबाट नेपाल पनि अछूतो छैन् । कोरोना संक्रमणका कारण अहिले नेपालमा उद्योग, व्यापार–व्यवसाय सबै ठप्प भएको अवस्था छ । यस्तो अवस्थामा नेपालमा आत्मनिर्भर उद्योगको रुपमा स्थापित भएको पोल्ट्री उद्योगमा ठूलो क्षति भएको छ ।
अझ यो महामारीका कारण पछिल्लो समय मासु खान नहुने भन्ने अफवाह फैलाईएको छ जसले पनि जनमानसमा भ्रम उत्पन्न भएको अवस्था छ । जुन पुर्ण रुपमा झुटो हो । मासु मानव शरीरको लागि घातक नभएर धेरै स्वस्थकर र फाइदाजनक मानिन्छ । मासुले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनमा ठुला सहयोग पुर्याउँछ । विभिन्न देशहरुमा जंगली प्राणीहरुको मासु खाने प्रचलन छ, जसले रोग निम्त्याउने गरेको भन्ने सुन्नमा आएको छ । तर, हामीले उत्पादन गर्ने मासु जंगली जनावहरुको भन्दा धेरै स्वस्थकर भएकाले मासुबाट कुनै पनि रोग लाग्ने कुरा भ्रममात्र हो ।
विश्व स्वास्थ्य संगठनले पनि मासुमा प्रतिबन्ध लगाएको छैन । तर, भारत र हाम्रै छिमेकी चीनमा विभिन्न प्राणीबाट विभिन्न प्रकारका घातक रोगहरु लागेको भन्ने हल्लाका कारण पनि नेपालमा यसको असर परेको छ । हाल युरोपेली देशहरुले मासुमा पोषण तत्व बढी हुने भएपछि यसको खपत बढाएका छन् । विश्व स्वास्थ्य संगठनले केही जनावर तथा प्राणीको मासुमा मात्रै रोक लगाएको छ । तर, हामीहरुको बुझाईमा फरक परेको देखियो ।
हामीले ह्याचरी तथा पोल्ट्रीमा उत्पादन गर्ने मासु एकदमै स्वस्थकर छ । यसमा खाद्यान्न तथा तरकारीहरुमा जस्तो केही विषादी पनि प्रयोग गरिएको हुँदैन । साथै अण्डा पनि स्वस्थकर छ । तर कहिलेकाँही कुखुरालाई चाँडो वृद्धि गर्नलाई केमिकल मिलाईने पनि हल्ला फैलाउने गरिन्छ, यो पनि हल्ला हो । पहिले ३ महिनामा १ किलोको कुखुरा हुने बेलामा हाल ५० दिनमै ३ किलो बढीको कुखुरा उत्पादन हुन्छ । यो हाईव्रिडको कमाल हो ।
अहिले वैज्ञानिक पद्धतिअनुसार दाना बढीभन्दा बढी खाने र खाएको दाना मासुमा परिणात हुने गर्दछ जसका कारण छोटो समयमै कुखुरा ह्वात्तै बढ्ने गरेका छन् । कुनैबेला कुखुराहरुलाई पनि एन्टिबायोटिक दिने प्रचलन थियो, त्यो पनि बन्द भएको छ । महामारी फैलिरहेको अवस्थामा मानिसको स्वास्थ्यमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न मासु, अण्डालगायत मासुजन्य बस्तुहरु त झन अत्यावश्यक हुन् । त्यसैले वास्तविकता बुझेर मात्र के ठीक, के बेठीक भन्ने छुट्याउनुपर्छ । हल्लाको पछि लाग्नु हुँदैन ।
अहिले विश्वभर फैलिएको महामारीका कारण बजार ठप्प छ । कुखुरा तथा अण्डाहरु बिक्री हुने अवस्था शुन्यप्राय भएको छ । पहिले हप्तामा ४० लाख कुखुरा बजारमा जाने गरेकोमा हाल १ लाख पनि धौधौ पुग्छ । हाल यातायातमा समस्या भएकाले कुखुरा सम्बन्धित स्थानसम्म पुर्याउन, कुखुरालाई खुवाउने दाना ल्याउनलगायतका कामहरुमा समस्या उत्पन्न भएको छ । हाल मासु खानु हुँदैन भन्ने हल्लाका कारण भन्दा पनि बजार बन्दका कारण मासु खपत घट्दो छ । हल्लाका कारण भने धेरै मासु खपत घटेको छैन, जुन लकडाउनले घटायो । हाम्रो व्यापार करीव– करीव नील नै भएको छ । पसल नखुल्दा हामी हाल मारमा परेका छौं ।
फेरी ब्रोईलरको अधिकतम उमेर भनेको ६० दिन हुन्छ । ६० दिनभित्र बेच्न सकिएन भने मर्ने सम्भावना अत्याधिक रहन्छ । यस्तै यो उमेरमा उनीहरुको खाना खाने र पचाउने क्षमता पनि उच्च रहन्छ । यस्तो बेलामा दाना पाइएन भने जति मासु बन्नुपर्ने हो त्यती मासु पछि बन्दैन । यसरी हामी मारमा परिरहेको बेलामा तथा घाटा बेहोरिरहेको बेलामा सरकारले पोल्ट्री उद्योगलाई २ प्रतिशत राहत दिने घोषणा गरेको छ, जुन बकवास मात्रै हो । यति राहतले त हामीलाई छुँदापनि छुँदैन । हाम्रो चालु पूँजी नै सकिएको छ । यो अन्य उद्योगको जस्तो होईन, दाना खुवाईराख्नुपर्छ ।
ब्रोईलर त पालेका जति सकिएका छन् कसैले बेचेर सकाए, कसैले कुखुरा गाडे भने कसैका कुखुरा यत्तिकै मरे । बाँकी रहेका लेयर्स र प्यारेन्टलाई ६–७ महिना हुर्काएर प्रोफिट लिने हो । यिनीहरुलाई दाना पनि मिलाएर अर्थात आधा दाना दिएर या केही समयको लागि भोकै राखेर पनि पाल्न सकिन्छ ।
हामीले लकडाउन सकिएपश्चात १ बर्षको बैंक ब्याज मिनाहा हुनुपर्छ भन्ने माग राखेका छौं । यस्तै चालु पूँजी सकिएर स्थिर पूँजी मात्रै बाँकी रहँदा चालु पूूँजी बराबरको लोन पनि दिनुपर्छ भन्ने माग राखेका छौं । त्यो पनि ५ बर्षका लागि ५ प्रतिशत भन्दा कम ब्याजदरमा दिनुपर्याे भनेर माग राखेका छौं । सरकारले यति गरिदियो भने अबको २ या ३ बर्षमा हामी पुरानै अवस्थामा फर्किन सक्छौं । नत्र धेरै गाह्रो छ । सरकारले घोषणा गरेको २ प्रतिशतले अन्य उद्योगलाई केही राहत पुगेपनि हामीलाई भने छुँदा पनि छुँदैन । – अनिल न्यौपानेसँगको कुराकानीमा आधारित