Logo

उखु किसानले पाएनन उखुको पैसा, किसानको ७४ करोड तिर्न ४ चिनी उद्योगको आनाकानी

उखु किसानले पाएनन उखुको पैसा, किसानको ७४ करोड तिर्न ४ चिनी उद्योगको आनाकानी



काठमाडौं । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाएका छैनन । चिनी उद्योगहरुले २०७५ सालमा करीब ७० करोड र २०६९ सालमा उखु दिएबापत बाँकी रहेकामध्येको करीब चार करोडको रकम अझै लिन बाँकी रहेको जिल्लास्थित उखु उत्पादक कृषक समितिको जिकिर छ ।

पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग सञ्चालनमा नआएका कारण किसानलाई रकम तिर्न बाँकी छैन भने अरू सबै चिनी उद्योगले किसानलाई करोडाँैको रकम भुक्तानी गर्न बाँकी छ ।

इन्दिरा सुगर मिल्सले २०७० सालमा करीब १६ करोड रुपैयाँ र सोभन्दा अघिल्लो वर्षको करीब ४ करोड रुपैयाँ गरी २० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको उक्त समितिले जानकारी दिएको छ । यसैगरी २०७० सालमा लुम्बिनी चिनी उद्योगको करीब १४ देखि १५ करोड र बागमती चिनी उद्योगले करीब ३५ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाइएको छ । समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार केही रकम उद्योगले आफ्ना बिचौलियामार्फत कम मूल्यमा किसानलाई रकम भुक्तानी गरे पनि अधिकांश सबै रकम भुक्तानी दिन बाँकी छ । तत्काल रकम भुक्तानी नभए आन्दोलन गरिने उनी बताउँछन ।

सरकारले उखुको प्रतिक्विन्टल मूल्य ५ सय ३६ दशमलव ५६ पैसा निर्धारण गरेकामा चिनी उद्योगले किसानलाई प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ ३६ पैसा र सरकारले बाँकी ६५ दशमलव २८ रुपैयाँ प्रतिक्विन्टलका दरले यस वर्ष अनुदान दिइने जनाएको छ । चिनी उद्योगहरुले बक्यौता रकम भुक्तानी शुरु गरिसकेको जनाएका छन् । उद्योगहरुले अहिले प्राथमिकताका आधारमा किसानलाई खरीद पुर्जी सङ्कलन गरी भुक्तानी दिन शुरु गरिसकेको उद्योगहरुको भनाइ छ । आफ्नो उद्योगले अहिलेसम्म करीब २० प्रतिशत रकम भुक्तानी गरिसकेको र अब पनि बाँकी रकम क्रमशः भुक्तानी गरिने योजना रहेको बागमती चिनी उद्योगका सञ्चालक राम थापाले जानकारी दिए ।

उनका अनुसार उद्योगलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारले उद्योगमैत्री नीति बनाउन जरुरी छ । सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेती गरिन्छ । पश्चिम नवलपरासीमा वार्षिक करीब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् । विगत वर्षदेखि जिल्लामा ७ हजार ५ सय हेक्टर जमीनमा उखु खेती हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्