काठमाडौं । पर्यटकीय सम्भावना रहेका से फोक्सुन्डो र मनाङमा विशेष प्रकृतिका रिसोर्ट सञ्चालन गर्ने योजना सहित लगानी बोर्डले गत जेठ ८ गते सम्भाव्यता अध्ययनका लागि प्रस्ताव आह्वान गर्यो । त्यससँगै देशका विभिन्न ठाउँमा ग्याँस उद्योगका सम्भावना अध्ययनको आशयपत्र पनि बोर्डले माग गरेको थियो ।
से फोक्सुन्डोमा लक्जरी रिसोर्ट र मनाङमा स्की रिसोर्ट सञ्चालन गर्ने उद्देश्य बोर्डको थियो । पर्याप्त पर्यटकीय सम्भावना भएका तर सामान्य पूर्वाधार पनि नभएका त्यस्ता क्षेत्रमा रिसोर्ट सञ्चालन गरेर पर्यटन गतिविधि बढाउने लक्ष्यसहित बोर्डले सम्भाव्यता अध्ययनको योजना अघि बढाएको थियो ।
खर्चालु पर्यटकलााई प्राथमिकतामा राखेर सरकार तथा निजी क्षेत्रको समन्वयमा ती स्थानमा रिसोर्ट सञ्चालन गर्ने बोर्डको अवधारणा थियो । सरकारले जग्गा उपलब्ध गराउने र निजी क्षेत्रले संरचना निर्माण गरेर सञ्चालन गर्ने मोडलमा समेत बोर्डले छलफल अघि बढाएको थियो ।
तर, यी तीनै परियोजनाको सम्भाव्यता अध्ययनका लागि पर्याप् प्रस्ताव नपरेको भन्दै बोर्डले तत्कालका लागि उक्त प्रक्रिया रद्ध गरेको छ । मंगलबार एक सुचना जारी गर्दै बोर्डले प्रक्रिया रद्ध भएको सार्वजनिक गरेको हो ।
बोर्डले यी तीन परियोजना बाहेक एकिकृत कृषि परियोजना र स्वास्थ्य, शिक्षा तथा खेलकुद सहरको सम्भाव्यता अध्ययन गर्न पनि आशयपत्र माग गरेको थियो । यी परियोजनामा पनि पर्याप्त प्रस्ताव नपरेको र परेका प्रस्तावहरु प्नि आवश्यक संख्या नपुगेको साथै सारभूत रुपमा प्रभावकारी हुन नसकेकोले उक्त सुचना अनुसारको खरिद प्रक्रिया रद्ध गरेको बोर्डले जनाएको छ ।