काठमाडौं । च्यांग्रा पश्मिनाले थप ४ मुलुकमा बिक्रीका लागि स्वीकृति पाएको छ । च्यांग्रा पश्मिनाको सामुहिक ट्रेडमार्क दर्ता भएसँगै ब्राजिल, मलेसिया, रसिया र चीनमा बिक्रीको स्वीकृति पाएको हो ।
यससँगै अबका दिनमा विश्वका ४७ मुलुकमा च्यांग्रा पश्मिनाको लोगो राखेर निर्यात गर्न पाइने नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गा विक्रम थापाले जानकारी दिए ।
उनका अनुसार हाल अमेरिका, नर्वे, स्वीजरल्याण्ड, अष्ट्रेलिया, स्वीजरल्याण्डलगायत देशमा नेपाली च्याङ्ग्रा पश्मिनाको माग बढी छ । त्यस्तै जर्मनी, फ्रान्स, इटाली नेपाली पश्मिनाको ठूलो बजार हो । वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा सामुहिक ट्रेडमार्क दर्ता गरेको हो ।
थप ४ मुलुकमा दर्ताभएसँगै यसको निर्यातमा बृद्धि हुने अध्यक्ष थापा बताउँछन । ‘हामी भर्खर ट्रेडमार्क दर्ता गरेर बजारिकरणमा लागिरहेका छौं,’ अध्यक्ष थापाले भने, ‘अर्को वर्षदेखि त्यसको प्रभाव बजारमा देखिन्छ र नेपाली पश्मिनाको माग उच्च हुन्छ ।’
पश्मिनाले २०११ मा सामुहिक ट्रेडमार्क पाएपनि यसको निर्यातमा सुधार भने हुन सकेको छैन । ९० को दशकमा नेपालबाट बार्षिक १० अर्ब रुपैयाँ बराबरको पश्मिना निर्यात हुने गरेकामा पछिल्लो समय घट्दै बार्षिक २ अर्ब रुपैयाँमा सिमित भएको छ ।
विदेशी बजारमा नेपाली पश्मिनाको प्रचारप्रसार नहुँदा निर्यातमा गिरावत आएको सम्बन्धित व्यवसायीहरु बताउँछन् । ‘विदेशमा नेपाली पश्मिनाको ट्रेडमार्क दर्ता देखि प्रबद्र्धन ज्यादै महंगो छ,’ अध्यक्ष थापाले भने, ‘यसले गर्दा निर्यात बढाउन सकिएको छैन ।’
उनका अनुसार विदेशमा पश्मिनाको ट्रेडमार्क दर्ताका लागि मात्रै २ देखि १० हजार डलरसम्म खर्च गर्नु पर्छ । संयुक्त अरब इमिरेट्स (युएइ)मा महंगो भएकै कारण दर्ता गर्न नसकिएको उनले बताए ।
त्यसो त विश्व बजारमा फेसन ट्रेन्ड छिटो छिटो परिवर्तन हुनुपनि निर्यात हुन नसक्नुको अर्को कारण हो । बजारिकरणमा अन्तरराष्ट्रिय व्यापार केन्द्रले पश्मिना इनहान्स कार्यक्रममार्फत सघाइरहेको छ । प्छिल्लो समय पश्मिनाका सल तथा स्वेटरको माग बढी छ ।
नेपालमा पश्मिनाको कच्चा पदार्थमा भने आयातमै भर पर्नु परेको छ । नेपाली व्यवसायीले पश्मिनाको कच्चा पदार्थ चीनबाट आयात गर्दै आएका छन ।
नेपालको मनाङ, मुस्ताङ, डोल्पमा उपलब्ध कच्चा पदार्थबाट पश्मिना बनाउन मिल्ने भएपनि हालसम्म त्यसको प्रक्रिया नै अघि बढेको छैन । अब केही बर्षभित्र नेपालमा उपलब्ध कच्चा पदार्थको प्रयोगलाई बढावा पाउने अध्यक्ष थापाले बताए ।
पश्मिना उद्योगबाट ३० हजार जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । हाल नेपालमा १ सय ५० पश्मिना उद्योग सञ्चालनमा छन् ।