काठमाडौं । हाल नेपाली जुत्ता उद्योगमा करिव २० अर्ब रुपैयाँ बराबरको लगानी पुगेको छ । यहाँ सञ्चालित १ हजार ५ सय जुत्ता उद्योगमा सो बराबरको लगानी पुगेको हो ।
बार्षिक रुपमा लगानी बढेपनि नेपालका जुत्ता उद्योगहरुले आफ्नो क्षमता अनुसारको जुत्ता उत्पादन गर्न सकेका छैनन् । यहाँ सञ्चालित उद्योगहरुको बार्षिक क्षमताको ३९ प्रतिशत मात्र जत्ता उत्पादन भएको हो ।
यी उद्योगहरुको बार्षिक उत्पादन क्षमता ११ करोड १९ लाख ७१ हजार जोर रहेको छ । तर हाल बार्षिक ४ करोड ३९ लाख ५८ हजार ७०० जोर मात्र उत्पादन हुँदै आएको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाली बजारमा विदेशी जुत्ताहरुले ठूलो हिस्सा ओगटेका कारण पनि क्षमता अनुसारको उत्पादन गर्न नसकिएको उनले बताए। ‘यसमा हामी व्यवसायीहरुको पनि कमजोरी छ ’ उनले भने ‘कतिय अवस्थामा सरकारले व्यवास्ता गर्दा पनि नेपाली जुत्ता उद्योग पछाडी परेको हो ।’
श्रेष्ठका अनुसार सरकारले नेपालमा उत्पादन गर्न सकिने जुत्ताहरुको आयात निशेधित गरेको अवस्थामा क्षमता अनुसारकै जुत्ता उत्पादन गर्न सकिन्छ । ‘सबै प्रकारका जुत्ता उत्पादन गर्न हामीसँग कच्चा पदार्थ तथा मेसिन त छैन’ उनले भने ‘तर हामी आत्म निर्भर भइसकेका उत्पादनको आयात रोकेको अवस्थमा मागको ९५ प्रतिशत उत्पादन हामी आफै गर्न सक्छौं ।’
दक्षीण तर्फको खुल्ला सिमाना वाट अनियन्त्रित रुपमा जुत्ता चप्पलहरु चोरी पैठारी नहुने तयारी बस्तुको आयातमा न्यून बिजकिकरण नहुने हो भने नेपाली जुत्ताचप्पल उद्योहरुको प्रतिस्पर्धि क्षमतामा ब्यापक बुद्धि भई उद्योगहरु पूर्ण क्षमतामा संचालन हुन सक्ने व्यवसायीहरुको भनाई छ ।
यस्ता उद्योगले क्षमता अनुसारको जुत्ता उत्पादन गर्न नसक्दा नेपाली उपभोक्ताहरु आयातित जुत्तामा भर पर्नु परेको उनले बताए ।
नेपालमा स्कूल, कलेज, सेक्यूरीटी गार्ड मा प्रयोग गरिने जुत्ता चप्पल अधिकांश स्वदेशी नै प्रयोग गरेको व्यवसायीहरुको भनाई छ ।
आ.व. ०७२र०७३को तथ्यांक अनुसार नेपालको बजारमा ७ करोड ६२ लाख ४४ हजार १ सय ८६ जोर जुत्ता चप्पल खपत भएको थियो । जसमध्ये ३ करोड ८२ लाख ९४ हजार ७ सय ९३ जोर नेपाली जुत्ता चप्पल खपत भएको संघले जानकारी दिएको छ ।
हाल नेपालमा सञ्चालित १ हजार ५ सय जुत्ता उद्योगमध्ये लेडिज चप्पल उत्पादक हरु १४० ओटा मात्र छन् ।
त्यस्तै यी उद्योगहरुमा ५० हजारको हारा हारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । नेपाली जुत्ता उद्योगमा महिला रोजगारीको अवस्था अन्य उद्योगको तुलनामा राम्रो भएको उनको दावी छ । जुत्ता उद्योगले मध्ये १६ हजार महिलालाई रोजगारी दिएको छ । जुन जम्मा जम्मा रोजगारीको ३२ प्रतिशत हुन आउछ ।