काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय संस्थाहरू ग्रामीण तहमा पुगे पनि अपेक्षाकृत परिणाम दिन नसकेको आरोप लगाएका छन्।
शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिविफिन)को वार्षिक साधारणसभामा बोल्दै मन्त्री भण्डारीले ७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ सेवा पुगेको तथ्यांकलाई मात्र सन्तोषजनक ठान्न नसकिने बताए। बैंकहरूले सामाजिक सुरक्षा भत्ता वितरण र सरकारी कारोबार बाहेक अन्य सम्भावनाको खोजीमा ध्यान नदिएकोप्रति उनले असन्तुष्टी व्यक्त गरे।
उनका अनुसार बैंकहरूले जल, जङ्गल, जमिन, खानी, र स्थानीय उद्योगहरूमा रहेको सम्भावनाको खोजीमा काम गर्न आवश्यक छ। मन्त्री भण्डारीले राजधानीतर्फको जनसंख्या पलायन र विदेशतर्फको बढ्दो प्रवृत्तिलाई नियन्त्रण गर्न बैंकहरूले ठोस भूमिका खेल्नुपर्नेमा जोड दिए।
साथै, उनले वित्तीय क्षेत्रमा अहिलेसम्मका उपलब्धिहरू प्रमुख राजनीतिक दलहरूसँग जोडिएको बताउँदै, सरकारको निर्देशनअनुसार नीति सुधारको प्रक्रिया अघि बढ्ने संकेत गरे। बैंकहरूको स्थानीय तहमा प्रभावकारितामा कमी रहेको भन्दै उनले दीर्घकालीन आर्थिक सम्भावनाहरू पहिल्याउन आग्रह गरे।