Logo

नाकाबन्दी र भुकम्पले लगानीकर्ताको मनोवलमा असर, उद्योग दर्ता १२ प्रतिशतले घट्यो

नाकाबन्दी र भुकम्पले लगानीकर्ताको मनोवलमा असर, उद्योग दर्ता १२ प्रतिशतले घट्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गत आर्थिक बर्षमा नेपालमा उद्योग दर्ता क्रम घटेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा २०७२/७३ मा उद्योग दर्ता १२ प्रतिशतले घटेको उद्योग विभागको तथ्यांकमा छ ।

करीव ३ महिना लामो नाकाबन्दीले देशभरका उद्योगहरु ठप्प हुनुका साथै नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेहरुको मनोवल पनि कमजोर भएको छ । नाकाबन्दी तथा बैशाखमा गएको भुकम्पले गर्दा लगानीकर्ताहरु उद्योगमा लगानी गर्न डराएको देखिएको छ । पछिल्लो केही वर्ष यता नेपालमा उद्योग दर्ता हुने क्रम बढेपनि गत आवमा भने घटेको हो ।

उद्योग विभागका अनुसार आर्थिक बर्ष २०७२/७३ मा ४ सय १० ओटा उद्योग दर्ता भएका छन् । जुन अघिल्लो आवको तुलनामा ५६ पटाले कम हो । आर्थिक बर्ष २०७१/७२ मा ४ सय ६६ ओटा उद्योग दर्ता भएको थियो । त्यस्तै गत आवमा उद्योगमा लगानी समेत घटेको देखिएको छ । गत अवामा यी उद्योगमा १२ अर्व २० करोड ७ लाख रुपैयाँको लगानी छ । अघिल्लो आवमा उद्योगमा १३ अर्व ८७ करोड ५१ लाख रुपैयाँ लगानी भएको थियो ।

विभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०७१/ ७२ मा दर्ता भएका उद्योगहरु संचालनमा आउँदा २२ हजार ७ सय ८५ जनाले रोजगारी पाउने छन् । तर, गत आवमा १८ हजार ९ सय ६० जनाले मात्र रोजगारी दिन सकिने उल्लेख छ ।

विभागका अनुसार गत आवमा ७७ ओटा ठूला उद्योग दर्ता भएका थिए । साथै ७२ ओटा मझौला र २ सय ६१ साना उद्योग दर्ता भएका छन् । सो अवधिमा सवैभन्दा बढी उत्पादनमुलक उद्योगमा १ सय ३५ उद्योग दर्ता भएका छन् । सेवामुलकतर्फ १ सय १८ र पर्यटनमुलक १ सय १३ उद्योग दर्ता भएका छन् । कृषि तथा वनजन्य २८, उर्जामुलक १५ र निर्माण सम्वन्धी १ ओटा उद्योग दर्ता भएका छन् ।

अघिल्लो आवमा सवैभन्दा बढी पर्यटनमुलक उद्योगको दर्ता भएको थियो । सो अवधिमा १ सय ४७ पर्यटनमुलक उद्योग दर्ता भएका थिए । त्यस्तै सेवामुलक १ सय ३७ , उत्पादनमुलक ९०, कृषि तथा वननज्य ५०, उर्जा मुलक २९, खनिजजन्य ७ र निर्माण सम्वन्धी ६ उद्योग दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL