Logo

सेजमा उद्योग खोल्न २३ कम्पनी इच्छुक, ठूला घरानाले पनि दिए आवेदन

सेजमा उद्योग खोल्न २३ कम्पनी इच्छुक, ठूला घरानाले पनि दिए आवेदन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग खोल्न २३ कम्पनीले इच्छा देखाएका छन् । सेज विकास समितिले माग गरेको प्रस्ताव आह्वानमा २३ कम्पनीले निवेदन दिएका हुन् ।

त्यस्तै सेजमा आवेदन दिनेमा ठूला औद्योगिक घराना पनि रहेको बताइएको छ । गोल्छा, पञ्चकन्या, सिद्धार्थ, जगदम्बा, लोहिया, युनिभर्सल (किरण सुज), लोहियालगायतले इच्छा देखाएको बताइएको छ ।

सात औद्योगिक एवं व्यावसायिक घरानाले सेजमा निर्यातमूलक उद्योग खोल्न प्रस्ताव हालेका हुन् । ती कम्पनीले खाद्यान्न, जडीबुटी, गार्मेन्ट, पाइप, स्टिल्स, जुत्ता चप्पल, ज्वेलरीलगायत उत्पादन गर्ने उद्योग खोल्न प्रस्ताव गरेको समितिका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।

समितिले गत वैशाखमा ३० दिनको म्याद राखेर सेजमा उद्योग खोल्नका लागि प्रस्ताव माग गरेको थियो । समितिले सेजका ५७ वटै प्लटमा उद्योग स्थापनाका लागि प्रस्ताव माग गरेको थियो ।

निवेदन दिने अधिकांश कम्पनीले २ देखि ६ वटा प्लटसम्मका लागि प्रस्ताव गरेको उनले जानकारी दिए । समितिले दुई साताभित्रै सबै प्रस्तावको मूल्यांकन गरेर योग्य कम्पनीलाई उद्योग सञ्चालनको अनुमति दिने समेत जानकारी दिएको छ ।

सेजमा स्थापना हुने उद्योगमा कम्तीमा २ करोड रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । त्यस्तै यी उद्योगले आफ्नो उत्पादनको कम्तीमा ७५ प्रतिशत हिस्सा निर्यात गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL