Logo

प्रतिवद्धताको आधामात्रै भित्रिन्छ वैदेशिक लगानी : ३५ अर्बको प्रतिवद्धता, भित्रियो १६ अर्ब

प्रतिवद्धताको आधामात्रै भित्रिन्छ वैदेशिक लगानी : ३५ अर्बको प्रतिवद्धता, भित्रियो १६ अर्ब



काठमाडौं । नेपालमा प्रतिबद्धताअनुरुप वैदेशिक लगानीको कार्यान्वयन भने कमजोर देखिएको छ । चालु आर्थिक बर्षको १० महिना अर्थात गत साउनदेखि बैशाख मसान्तसम्मको तथ्यांकले पनि यसको पुष्टि गर्दछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पछिल्लो १० महिनामाब १६ अर्ब ६४ करोड ६८ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

यो यसै अवधिमा उद्योग विभागमा आएको प्रतिवद्धताको जम्मा ४७ प्रतिशत मात्रै हो । अर्थात उद्योग विभागमार्फत चालु आवको साउनदेखि बैशाख मसान्तसम्म ३५ अर्ब ३ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । चालु आर्थिक बर्षको बैशाख मसान्तसम्म गत आर्थिक बर्षको सोही अवधिको तुलनामा वैदेशिक लगानीमा वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो १० महिनामा विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत १४ अर्ब ८ करोड ३२ लाख रुपैयाँ लगानी भित्रिएको थियो । तर, गत आवको सोही अवधिमा उद्योग विभागमार्फत भने २७ अर्ब २५ करोड ६७ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

गत आवको १० महिनामा वैदेशिक लगानीका उद्योगमा आएको प्रतिवद्धताको तुलनामा ५१ प्रतिशत मात्रै लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यसरी विदेशी लगानीकर्ताहरुले भित्र्याउने प्रत्यक्ष वैदेशिक लगानी गत आर्थिक बर्षको १० महिनामा अघिल्लो आवको तुलनामा १९ प्रतिशतले घटेको थियो । अघिल्लो आर्थिक बर्ष अर्थात आव २०७६÷७७ मा १७ अर्ब ४२ करोड ५२ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०७६÷७७ र २०७७÷७८ को आर्थिक बर्षभरी क्रमशः १९ अर्ब ४७ करोड ८७ लाख र १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । उक्त २ बर्ष उद्योग विभागमार्फत भने क्रमशः ३७ अर्ब ६८ करोड ८ लाख र ३० अर्ब ७० करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । यी दुई बर्ष भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी भने प्रतिवद्धताको क्रमशः ५१ प्रतिशत र ६३ प्रतिशत छ । अर्थात यी दुई बर्ष वैदेशिक लगनी प्रतिवद्धताको आधा मात्रै लगानी भित्रिएको देखिन्छ ।

वैदेशिक लगानीकर्ताहरुले निश्चित समय तोकेर लगानी प्रतिवद्धता गर्ने र सोही समयमा मात्रै लगानी भित्र्याउने परम्पराका कारण प्रतिवद्धता अनुसार लगानी नआउने नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । राष्ट्र बैंक वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल भने कुनै लगानीकर्ताले ३ बर्षपछि, कुनैले २ बर्षपछि, कुनैले ३, ४ महिनापछि लगानी भित्र्याउँछु भन्दै लगानी प्रतिवद्धता जाहेर गर्छन् । सोहीअनुसार प्रतिवद्धता गरेकै समयमा लगानी भित्रिदैन र कम जस्तो देखिन्छ । यता उद्योगी, व्यवसायीहरु भने नेपालको झन्झटिलो नीतिका कारण प्रतिवद्धता अनुसार लगानी नभित्रिने बताउँछन् ।

स्वदेशी लगानीकर्ताहरुलाई समेत लगानीको सुरक्षाका लागि आवश्यक नीतिहरु कार्यान्वयनमा चुनौती भएका बेलामा वैदेशिक लगानीकर्ताका लागि यस्ता नीतिहरु झन ठुलो अड्चन हुन्छन् । जसका कारण कुनै पनि फर्म दर्ता सजिलै भएपनि सोही अनुसार पैसा भित्र्याउन उनिहरुलाई केही न केही रुपमा असजिलो हुने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ बताउँछन् । पछिल्लो समय वैदेशिक लगानी भित्र्याउने नीतिहरु केही खुकुलो भएपनि प्रतिवद्धता ल्याउने निकायलाई प्रतिवद्धता ल्याएपछि सम्झाउने, पैसा भित्र्याउन के कारणले ढिलाई भयो भनेर बुझ्ने काम कसैले नगरेको उनको भनाई छ ।

चालु आवको १० महिनामा उद्योग विभागमार्फत आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी लगानी सेवा र पर्यटन क्षेत्रमा आएको देखिन्छ । यी क्षेत्रमा १० महिनाको अवधिमा क्रमशः १८ अर्ब र १० अर्बको लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । यस्तै देशका तुलनामा हेर्ने हो यस अवधिमा विभिन्न १९ ओटा देशबाट लगानी प्रतिवद्धता आएको छ ।

जसमध्ये सबैभन्दा बढी चीनबाट, त्यसपछि स्पेन, भारत, सिंगापुर, अमेरिका, अष्ट्रेलियालगायतका देशबाट लगानी प्रतिवद्धता आएको देखिन्छ । यी देशबाट १० महिनामा क्रमशः २४ अर्ब ९३ करोड, ं४ अर्ब ८५ करोड, २ अर्ब २३ करोड, १ अर्ब र ४५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । देशमा वैदेशिक मुद्रा संचिति कमजोर हुादा प्रत्यक्ष देशलाई फाइदा पुग्ने वैदेशिक लगानी प्रतिवद्धता अनुसार नभित्रिदा थप चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL