Logo

वर्ष २०७८ मा लगानी : वैदेशिक लगानी सन्तोषजनक देखिएन, स्वदेशी लगानीमा भने उत्साह

वर्ष २०७८ मा लगानी : वैदेशिक लगानी सन्तोषजनक देखिएन, स्वदेशी लगानीमा भने उत्साह



काठमाडौं । विस २०७८ सालको आज अन्तिम दिन । कोरोना महामारीको पहिलो लहरको अन्त्यदेखि नयाँ भेरियन्टको सुरुवातसम्म झेलेको यो बर्ष बर्षको अन्त्यमा आािर्थक संकटको चर्चामा अन्योलको अवस्थाबाट गुज्रिएको छ । बर्षको अन्त्यमा अर्थतन्त्रका बारेमा विश्लेषण गर्नेहरु पनि दुई धारमा विभाजित भएका छन् । एक पक्षले देशको अर्थतन्त्र श्रीलंका जस्तै बाटोमा गइरहेको बताएका छन् भने अर्कोथरिले देश को अर्थतन्त्र श्रीलंकासँग तुलना गर्नुपर्ने अवस्थामा नरहेको जिकिर गरिरहेका छन् ।

यी दुई पक्षबीचको व्याख्या र विश्लेषणकै बीच नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पछिल्लो ८ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । जसमा नेपालको आयात व्यापार उच्च बढेको छ भने आयात व्यापारका लागि आवश्यक वैदेशिक मुद्राको संचिति ओरालो लाग्दो छ । नेपालले सवदेशबाट कुनै वस्तु खरिद गर्नका लागि विदेशी मुद्राको आवश्यकता पर्छ । त्यस्तो वस्तु तथा सेवा खरिद गर्न सक्ने मुद्रा हाल ६ महिनालाई मात्रै पुग्ने छ ।

नेपालमा विदेशी मुद्राका लागि वैदेशिक सहायता तथा ऋण, निर्यात व्यापार, रेमिट्यान्स, पर्यटनलगायत आधारहरु छन् । त्यसमध्ये महत्वपुर्ण माध्यम विदेशी लगानी पनि हो । कुनै देशमा विदेशीले लगानी बढाएमा पनि त्यसको प्रत्यक्ष असर विदेशी मुद्रा संचितिमा पर्छ । तर, नेपालले पछिल्लो समय लक्ष्यअनुरुप विदेशी लगानी भित्र्याउन नसकेपछि अर्थतन्त्रमा चाप देखिएको छ ।

वैदेशिक लगानी प्रतिवद्धता ५ अर्बले बढ्यो

उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु क्यालेण्डर बर्षमा मात्रै नेपालले ३९ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । यो तथ्यांक गत बैशाख १ देखि हालसम्मको हो । विभागले उपलब्ध गराएको तथ्यांक अनुसार चालु बर्षको लगानी स्वीकृत गत बर्षको सोही अवधिको तुलनामा करिव ५ अर्ब ३० करोड रुपैयाँले बढी हो । गत बर्षभरी विभागले ३४ अर्ब ७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको थियो ।

चालु बर्ष उद्योग विभागले विभिन्न १ सय ९६ ओटा परियोजनामार्फत उक्त विदेशी लगानी भित्र्याएको हो । यस्तो परियोजनामा आएको लगानीमार्फत १० हजार ६ सय ९७ जनाले रोजगारी पाउने बताईएको छ । पछिल्लो समय आएको वैदेशिक लगानीमध्ये सबैभन्दा बढी सेवा र पर्यटन क्षेत्रमा आएको छ । चालु बर्षको १२ महिनामा सेवा क्षेत्रका ६१ परियोजनामार्फत १९ अर्ब २० करोड रुपैयाँ बराबर लगानी प्रतिवद्धता आएको छ भने पर्यटन क्षेत्रका ८३ परियोजनामार्फत १२ अर्ब ८३ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

स्वदेशी लगानीमा उल्लेख्य वृद्धि

चालु बर्षको बैशाखदेखि हालसम्म २ खर्ब ८३ करोड ३२ लाख रुपैयाँ बराबरको स्वदेशी लगानी स्वीकृत गरेको छ । यो लगानी गत बर्षको सोही अवधिको तुलनामा १ खर्ब ३१ अर्ब रुपैयाँले बढी हो । गत बर्षभरी उद्योग विभागले १ सय ९७ परियोजनामार्फत १ खर्ब ५२ अर्ब २८ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी स्वीकृत गरेको थियो । तर, चालु बर्ष भने उक्त लगानीमा उल्लेख्य वृद्धि हुँदा २ खर्ब ८३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । तथ्यांक अनुसार चालु बर्ष उर्जा क्षेत्रका मात्रै १ खर्ब ४२ अर्ब रुपैयाँ बराबरका ३९ परियोजना विभागमा दर्ता भएका छन् । यस्तै यसै अवधिमा विभागले ६१ अर्ब रुपैयाँ बराबरका १ सय ३ परियोजना उत्पादनमुलकका र ४३ अर्ब बराबरका ३९ सेवा क्षेत्रका परियोजना दर्ता गरेको छ ।

चालु बर्ष आएको स्वदेशी लगानीका परियोजनाहरुमा २३ हजार ३ सय ८२ जनाले रोजगारी पाउने बताईएको छ ।यसरी तथ्यांकलाई केलाउँदा गत बर्षको तुलनामा यो बर्ष विदेशी लगानीमा भनेबमोजिम वृद्धि नभएपनि स्वदेशी लगानी भने उल्लेख्य बढेको छ । स्वदेशी लगानीकर्ताहरु उद्योग क्षेत्रमा आकर्षित हुँदा स्वदेशी लगानीकर्ताले लगानी बढाउन थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

तर, वैदेशिक लगानी भनेबमोजिम नभएपछि पनि त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने निश्चित हुन्छ । नेपालमा आउने लगानीभन्दा जाने लगानी बढी भएमा शोधनान्तर स्थितिमा पनि नराम्रो असर पर्छ । यस्तै यसले भुक्तानी सन्तुलनमा सबैभन्दा ठूलो प्रभाव पार्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL