Logo

महासंघको ५६ औं बार्षिक साधारणसभा : अपारदर्शी र अल्कालिन नीतिका कारण देशमा संकट

महासंघको ५६ औं बार्षिक साधारणसभा : अपारदर्शी र अल्कालिन नीतिका कारण देशमा संकट



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का अध्यक्ष शेखर गोल्छाले अपारदर्शी र अल्पकालिन नीतिको अलमलका कारण नेपालमा मध्यम र दिर्घकालिन संकट निम्तिएको बताएका छन् । सोमबार महासंघका ५६ औं बार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो संकट निम्त्याउन सरकारका धेरैजसो निकायको भुमिका रहेको बताएका हुन् । कोरोनाका कारण सङ्कटमा परेको अर्थतन्त्र क्रमशः लयमा फर्किन लागेको छ । सरकारले क्रमशः लगानीको वातावरण बनाए पनि अपेक्षित नतिजा हासिल हुन नसकेको उनको भनाई थियो ।

‘हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुहोस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौँ, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस् । हामी राजश्व बुझाउँछौँ, अपमान नगरिदिनुहोस्,’ उनले भने ।

अर्थतन्त्रका प्रमुख तीन ‘पिल्लर’ मध्येको एक निजी क्षेत्र भएको बताउँदै देशमा लगानीमैत्री वातावरण अझै बन्न नसकेको गुनासो उनको थियो । जसको प्रमुख कारण अपारदर्शिता र अल्पकालिन नीतिको अलमल नै हो ।

आर्थिक सङ्कटमा फसेको श्रीलङ्काको उदाहरण यतिखेर नेपालमा धेरै दिन थालिएको छ । अध्यक्ष गोल्छा नेपालमा पनि त्यस्तै हुन लागेको त होइन भन्ने आशङ्कालाई यहाँका उद्योगी, व्यवसायीले पनि नजिकबाट हेरेको बताउँछन्।

नेपाल श्रीलंकाजस्तो नहुने भएपछि चाँडै चनाखो नभए त्यो संकट पनि हामीकहाँ आईपुग्ने उनको भनाई थियो । अध्यक्ष गोल्छाले सङ्कट रोक्न रकम भित्र्याउने संयन्त्र बलियो बनाउनुपर्ने, मुलुकभित्र लगानीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । ‘लगानी भयो भने उत्पादन हुन्छ । उत्पादनले रोजगारीको माग गर्छ । प्रतिस्पर्धी उत्पादन गर्न सकियो भने निर्यात हुन्छ । यसमा सुहलियत दिन सकियो भने बजार बढ्छ । विश्वबजारमा माग बढ्दा थप अवसर सिर्जना हुन्छ । मुलुकको सम्पत्तिमा बढोत्तरी हुन्छ । सम्पत्ति बढ्यो भने सामाजिक न्यायसहितको खुला अर्थ व्यवस्था मजबुत हुन्छ ।’, उनले भने ।

अर्थतन्त्रमा ७७ प्रतिशत हिस्सा र ७५ प्रतिशत बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई सिंहदरबार र नेपाल राष्ट्र बैंकमा हुने छलफल र निर्णयबारे थाहा नहुनु दुःखद रहेको भन्दै उनले अर्थतन्त्रमा के कस्ता समस्या छन् भनेर उद्यमी व्यवसायीसँग छलफल गरेर समाधान निकाल्दा राम्रो हुने बताए । उनले भने, ‘हामी पनि यही मुलुकका नागरिक हौँ, अर्थतन्त्रमा हाम्रो लगानी ७७ प्रतिशत छ । यहाँ करिब ७५ प्रतिशत रोजगारी हामीले सिर्जना गरेका छौँ । सोही हाराहारीमा राजश्व हामी र हाम्रो माध्यमबाट सङ्कलन हुन्छ । हामी पनि सङ्कट हुन नदिन योगदान दिन चाहन्छौं, हामीलाई पनि मुलुकको माया छ ।’

चालु आर्थिक बर्षको ७ महिनाको विवरणका आधारमा आत्तिनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै उनले मुलुक गत कात्तिकदेखि नै सङ्कटोन्मुख भएको बताए । अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई राजश्वको स्रोतका रुपमा मानिएको तर विकासको साझेदार भने नमानिएका गुनासो गरे । उनले सरोकारवालासँग सार्थक सहकार्यका लागि आफूहरु तयार रहेकामा जोड दिएका छन् ।
कार्यक्रममा मुख्यसचिव शंकरदार बैरागीले सरकारले निजी क्षेत्रलाई आफ्नो सारथिका रुपमा लिएको बताए । उनले सरकारले कहिल्यै पनि निजी क्षेत्रलाई फरक ढङ्गले नहेरेको र आफ्नो साझेदार अर्थात् सहयोगीका रुपमा लिएको समेत बताएका थिए ।
‘निजी क्षेत्र सरकारको अनन्य विकास साझेदार हो । हामीले हरेक क्षेत्रमा साझेदारी गरेका छौं । सरकार र निजी क्षेत्र एक आपसमा मिल्नुको विकल्प छैन ।’ उनले देशको अवस्था खराब नभएको र हल्ला भएजस्तो समस्यामा नपरेको बताए । ‘जोखिमका केही लक्षण देखिएका छन् । हामी सबै मिलेर त्यसको समाधान निकाल्नुपर्छ । हामी खुला हृदयका साथ छलफल गर्छौं र समाधानको उपाय पनि निकाल्छौँ ।’

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि अर्थतन्त्रमा देखिएको समस्या र समाधानका उपाय, सरकार र निजी क्षेत्रको समन्वयका बारेमा धारणा राखे। यसअघि आएको श्रीलङ्काको उदाहरण दिँदै उनले समस्या छन् तर समाधान नै गर्न नसकिने अवस्थामा भने नपुगेको बताएका छन् । त्यसका लागि हामी सबै सचेत हुनुपर्नेमा उनले जोड दिए । उनले समस्याको पहिचान र त्यसको निरुपणका लागि ढिलाइ गर्न नहुनेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रलाई आह्वान गरेका छन् । अर्थतन्त्र परनिर्भर हुँदा अनेक खालका समस्या देखिएको भन्दै उनले त्यसका लागि सरकार र निजी क्षेत्रको सार्थक सहयोग र सहकार्य जरुरी रहेकामा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
MBL