काठमाडौं । सरकारले वस्तु तथा सेवाको ट्रेडमार्क दर्तामा कडाई गर्ने भएको छ । हाल दर्तामा रहेका ट्रेडमार्कहरु अव्यवस्थित भएको र एक अर्कावीच मिल्दोजुल्दो भएको भन्दै नयाँ व्यवस्था गर्न लागेको उद्योग विभागका ट्रेडमार्क शाखा निर्देशक नेत्र भट्टराइले जानकारी दिए । ‘ट्रेडमार्क जुध्ने तथा चोरी हुने प्रक्रियालाई रोक्न त्यससम्वन्धि निर्देशिका ल्याउन लागिएको हो’ उनले भने ।
सो सम्वन्धि निर्देशिकाको मस्यौदा समेत तयार भइसकेको भट्टराइले जानकारी दए । ‘मस्यौदा मन्त्रालयमा बुझाएका छौं ’ उनले भने ‘ मन्त्रालयबाट पास हुनासाथ कार्यन्वयनको प्रक्रिया अघि बढाउने छौं ।’ विभागले करीव २ हप्ता अघि निर्देशिकाको मस्यौदा मन्त्रालयमा पेस गरेको जानकारी उनले बताए ।
ट्रेडमार्क सम्वन्धि निर्देशिका पेटेन्ट डिजाइन ऐन २०२२ लाई सहयोग पुर्याउने किसिमले तयार गरिएको उनले जानकारी दिए । निर्देशिका लागु गरेसँगै दर्ता भएका ट्रेडमार्क व्यवस्थित गर्न सजिलो हुने भट्टराइको विश्वास छ । त्यस्तै ट्रडमार्क चोरीको उजुरीलाई पनि व्यवस्थित ढंगले टुंगयाइने बताइएको छ ।
केके छन् निर्देशिकामा
निर्देशिकामा राष्ट्रिय प्रतिकको नाम तथा ठाउँको नामबाट बस्तु वा उत्पादनको ट्रेडमार्क राख्न नमिल्ने व्यवस्था गरिएको छ ।
त्यस्तै दर्ता भइसकेका ट्रेडमार्कको अगाडी वा पछाडी शब्द थपेर नयाँ दर्ता गर्न नदिइने उल्लेख छ । नियतबस वा अन्जानमा ट्रेडमार्क चोर्ने प्रवृत्ति बढेकोले यसलाइ हटाउन सो व्यवस्था गर्न लागिएको हो । ‘कतिपय व्यवसायीहरुमा चलेको कम्पनी तथा उत्पादनको नाम चोर्ने प्रवृत्ति छ ’ उनले भने ‘त्यसलाई निमूल पार्न नाममा विशेष गरिएको हो ।’
त्यसैगरी बोलिचालिको शब्दबाट पनि वस्तु वा सेवाको पहिचान राख्न नपाइने बताइएको छ ।
नेपालमा ट्रेडमार्कको संरक्षण सम्वन्धि व्यवस्था नभएकोले गर्दा पनि यस सम्वन्धि चोरी बढेको छ । त्यस्तै उद्योग विभागमा पेपर वेस सिस्टम भएकोले दर्ता भएका सवै ट्रेडमार्कको रेकर्ड नहुने भएकोले दोहोरिएका ट्रेडमार्क बारे जानकारी नभएको उनले बताए । उद्योग विभागका अनुसार नेपालमा हालसम्म ४० हजार ट्रेडमार्क दर्ता भइसकेका छन् ।