Logo

३२ करोड लगानीमा क्लासिक फुड इन्डष्ट्रिज स्थापना हुँदैं, वार्षिक २२ हजार मेट्रिकटन दाल उत्पादन गर्ने

३२ करोड लगानीमा क्लासिक फुड इन्डष्ट्रिज स्थापना हुँदैं, वार्षिक २२ हजार मेट्रिकटन दाल उत्पादन गर्ने



काठमाडौं । वार्षिक २२ हजार मेट्रिकटन दाल तथा अन्य खाधान्न उत्पादन गर्नेगरी क्लासिक फुड इन्डष्ट्रिज स्थापना हुने भएको छ । रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा उद्योग स्थापना गर्नेगरी क्लासिक फूडले उद्योग विभागमा लगानीको प्रस्ताव गरेको हो । उद्योग विभागका अनुसार फागुन महिनामा एक मझौला उद्योगमार्फत दाललगायत खाद्य वस्तु उत्पादन गर्नेगरी प्रतिवद्धता आएको छ । विभागका अनुसार गत १५ गते उक्त उद्योग स्थापना तथा लगानीको प्रतिवद्धता आएको हो ।

३२ करोड रुपैयाँ कूल लागत राखिएको परियोजनामार्फत बार्षिक २२ हजार मेट्रिक टन दाल र १४ सय २५ मेट्रिक टन चुन्नी भुषा उत्पादन गरिने बताइएको छ । ९६ जनालाई रोजगारी दिनेगरी प्रस्ताव गरिएको उक्त परियोजनामा शतप्रतिशत लगानी स्थानीय रहेको कम्पनीले विभागलाई जानकारी दिएको छ । यस्तै उक्त परियोजनाले १ हजार केभीए विद्युत खपत गर्ने पनि बताईएको छ ।

चालु आर्थिक बर्षको ७ महिनामा मात्रै नेपालले १२ अर्ब ३४ करोड २० लाख रुपैयाँ बराबरको १५ करोड १० लाख ४६ हजार किलो दाल आयात गरेको छ । नेपालमै उत्पादन र प्रशोधन हुन सक्ने भएपनि यस्ता खाद्यान्न, दलहनलगायतका वस्तुहरु विदेशबाट आयात गर्नुपर्दा नेपाली पैसा बाहिरिरहेको उद्योग विभागका अधिकारीहरु बताउँछन् ।नेपालमा उत्पादन हुने वस्तुहरुको प्रशोधन उद्योग नेपालमै निर्माण गरी वस्तु खपत गरेमा पनि पनि नेपालको व्यापारघाटामा सहुलियत हुने विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुली बताउँछन् ।

उनका अनुसार विभागमा गत १५ गते दर्ता भएको दाल उद्योगले बार्षिक रुपमा चना, मास, मुसुरो, मुंग, केराउ, अरहरलगायतका दालहरु उत्पादन गर्ने बताएको छ । कम्पनीले ठुलो मात्रामा नेपालमै दाल उत्पादन गर्ने भएपनि दाल आयातमार्फत बाहिरिने रकम नेपालमै वस्ने उनको अनुमान छ । विभागमा लगानी प्रतिवद्धता जाहेर गरेको कम्पनीले आफ्नो चालु पुँजी १ करोड ४८ लाख रुपैयाँ रहेको जानकारी दिएको छ ।

पछिल्लो ७ महिनामा नेपालमा २ खर्ब १३ अर्ब ५३ करोड रुपैयाँ बराबरको उद्योगमा लगानी प्रतिवद्धता आएको छ । जसमा सबैभन्दा धेरै प्रतिवद्धता उर्जामुलक र त्यसपछि उत्पादनमुलक क्षेत्रमै छ । पछिल्लो ७ महिनामा नेपालको उत्पादनमुलक क्षेत्रका उद्योगमा मात्रै ४६ अर्ब ८६ करोड २२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL