Logo

फ्रेट चार्ज र कन्टेनर अभावको प्रभाव नेपालमा पनि, विदेश पठाउने वस्तुको लागत बढ्दा सकसमा व्यवसायी

फ्रेट चार्ज र कन्टेनर अभावको प्रभाव नेपालमा पनि, विदेश पठाउने वस्तुको लागत बढ्दा सकसमा व्यवसायी



काठमाडौं । पछिल्लो समय विश्वभर नै समस्याका रुपमा रहेको कन्टेनर अभावको असर नेपालमा पनि परेको छ । पछिल्ला २ बर्षदेखि फैलिएको कोरोना महामारी र त्यसको प्रभावका कारण विश्वभरको व्यापारचक्र नै विथोलिएको छ । विश्वका धेरैजसो राष्ट्रहरुमा कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि भन्दै गरिएको बन्दाबन्दीका कारण आयात निर्यात बन्द भयो र वस्तु अभाव चुलिँदै गयो । विस्तारै जनजीवन सामान्य भएपछि वस्तु अभाव चुलिँदै गएका देशहरुले साविकको भन्दा बढी वस्तु आयात गर्न थाले र निर्यातकर्ताहरुले पनि बढी वस्तु निर्यात गर्न थाले । यसले विश्वभरी नै वस्तु बोक्ने कन्टेनरको अभाव चुलियो । यसको प्रत्यक्ष असर अन्य देशको तुलनामा नेपालमा बढी पर्याे ।

कन्टेनर अभाव चुलिएसँग विश्वभर फ्रेट चार्जसमेत उच्च रुपमा बढ्यो । पछिल्लो समय भारत र चीनतर्फ उल्लेख्य रुपमा कन्टेनरहरु पठाइरहेका सिपिङ कम्पनीहरुले नेपाली व्यवसायीहरुलाई बढेको मूल्यमा कन्टेनर बुक गर्छु भन्दा पनि नदिने अवस्था आयो । यसले अहिले फ्रेट चार्ज बढेको छ । तर, नेपाली निर्यातकर्ताहरुले बढेकै मूल्यमा कन्टेनर पठाउन अनुरोध गर्दा पनि नपठाएको बताउँछन्, नेपाल नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष नरेशलाल श्रेष्ठ । उनका अनुसार पछिल्लो समय बढेको फ्रेट चार्जका कारण नेपाली वस्तुको लागत नै महंगो भएर विदेशी मुलुकमा पठाउन अप्ठ्यारो अवस्था आएको छ । तर, बढेको भाडामै वस्तु पठाउँछु भन्ने व्यवसायीले भने भनेको बेलामा कन्टेनर नपाउने समस्या झन ठूलो समस्याको रुपमा रहेको उनले बताए । ‘पछिल्लो समय बढेको फ्रेट चार्जले एकातिर नेपाली वस्तुको लागत बढ्दा आउनुपर्नेजति अर्डर आएको छैन,’ उनले भने, ‘बढेकै भाडा तिरेर आएको अर्डर पठाउँछु भन्दा पनि कन्टेनर नपाईने समस्या झन ठूलो छ ।’

यता नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्याल पनि फ्रेट चार्ज बढेपछि केही अप्ठ्यारो भएको बताउँछन् । नेपालमा उत्पादन हुने धेरैजसो तयारी पोशाकको कच्चा पदार्थ कपडाको आयात विदेशबाटै हुन्छ । विदेशबाट आयात हुने यस्तो कपडाको मूल्य बढेर आउँदा नेपालमा उत्पादन हुने तयारी पोशाकको मूल्य पनि सोही अनुसार बढेको छ । यसरी नेपाली उत्पादनको मूल्य बढ्दा यसले अन्तरराष्ट्रिय बजारसँग प्रतिश्पर्धा गर्न नसक्ने भएपछि अप्ठ्यारो अवस्था सिर्जना भएको उनको भनाई छ । नेपालबाट तेस्रो मुलुकमा उनी, फेल्टका उत्पादन, तयारी पोशाक, चिया, कफी, हस्तकलाका सामग्रीहरुलगायत तेस्रो मुलुक निर्यात हुने गरेको छ ।

पछिल्लो समय बढेको सिपिङ चार्जको असर निर्यातमा मात्रै नभई आयातमा पनि परेको नेपाल फ्रेट फरवाडर्स एसोसिएसनका अध्यक्ष मनोज अधिकारी बताउँछन् । उनका अनुसार फ्रेट चार्ज बढेका कारण र वस्तु निर्यात भईरहेपनि पहिलेको भन्दा भने घटेको उनी बताउँछन् । ‘फ्रेट चार्ज र कन्टेनर अभावका कारण पहिलेभन्दा केही हदसम्म निर्यात हुने वस्तुमा कमी भने आएको छ,’ उनले भने, ‘तर, सरकारी तदारुकताका कारण समस्या अव समाधान हुने बाटोतिर लाग्दैछ ।’ उनले पछिल्लो समय बढेको कन्टेनर अभावको समस्या पहिलेभन्दा केही सहज भएको बताए । वाणिज्य सचिव आफै यसको सहजीकरणका लागि लागिपरेकाले समस्या समाधानको बाटोमा गएको उनले बताए ।

भारतीय सिपिङ कम्पनीहरुले नेपालमा खाली कन्टेनर पठाउन बन्दैजस्तो गरेपछि केही महिना अघि निर्यात परिसंघले बन्दरगाहमै प्रतिनिधि पठाएको थियो । पछिल्लो समय सिपिङ कम्पनीहरुको सिपिङ चार्ज पनि तेब्बर बढीले बढेको छ । जसका कारण पनि नेपाली निर्यातकर्ताहरुलाई ठूलो अप्ठ्यारो अवस्थाको सिर्जना भएको थियो । कोरोना अघि सिपिङ चार्ज प्रतिकन्टेनर ५ हजार डलर पथ्र्यो । तर, कोरोनापछि भने तेब्बरसम्म चार्ज वृद्धि हुँदा प्रतिकन्टेनर १८ हजार डलरसम्म तिर्नुपर्ने अवस्था आएको छ । पछिल्लो समय विश्वभर नै सिपिङ चार्ज बढेकाले नेपाली कन्टेनरको अभाव पनि बढ्दो छ ।

वाणिज्य सचिवको तदारुकता

करिव ६ महिना अघि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा वस्तु निर्यातका लागि कन्टेनर अभाव भएको भन्दै गुनासो आएको थियो । नेपालमा कुनैपनि सिपीङ लाईन दर्ता नभएकाले कन्टेनर आपुर्तिका भारतीय सिपिङ कम्पनीहरुले नै यसको आपुर्ति गरिरहेका छन् । जसका कारण वाणिज्य सचिव दिनेश भट्टराईले यसको सहजीकरणका लागि भन्दै महावाणिज्य दुतावासमार्फत अनुरोध गरेका थिए ।

यस्तै उनी व्यक्तिगत रुपमै पनि कोलकात्ता बन्दरगाहमै गई यसको सहजीकरण गर्न अनुरोध गरेका उनी आफैले बताएका छन् । ‘मलाई यस्तो गुनासो आउने वित्तीकै म आफै लागिपरेर विभिन्न निकायमार्फ यसको सहजीकरण अघि बढाएको थिएँ,’ उनले भने, ‘हाल यस्तो गुनासो आउन छोडेको छ, यसको मतलव समस्या समाधान भइसकेको हुनुपर्छ ।’ कन्टेनर अभाव र फ्रेट चार्जको समस्या विश्वभरी नै अभ्यस्त रहेकाले नेपालले पनि यसको सामना गर्नुपरेको उनले बताए । उनका अनुसार विश्वभर आइपरेको यस्तो समस्या नेपालमा पनि देखापरेको थियो । जुन, हाल केही हदसम्म समाधान भएको छ भने अझै हुने प्रक्रियामै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL