Logo

१५ दिनभित्र चोरी नरोकिए ललितपुरमा ‘ब्ल्याक आउट’ !

१५ दिनभित्र चोरी नरोकिए ललितपुरमा ‘ब्ल्याक आउट’ !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने बताएका छन् । उनले संगठित रुपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती गर्ने चेतावनी दिएका हुन् ।

वषौंदेखि संगठित रुपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिएर आग्रह गरिएको बताए । ‘राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत चोरीमा संलग्न हुनु मुलककै लागि दुर्भाग्य र बेइजती हो, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुने छौं,घिसिङले भने,‘त्यसपछि जस्तो जुकै ठूलो दबाब आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौं ।’

ललितपुरको भित्रि सहरी क्षेत्र पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छेलगायत स्थानमा संगठित रुपमा विद्युत चोरी भइरहेको छ ।

गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी,गुहीटोल, ठैव, वांडेगाउ, लुभ जाने फिडर अन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा विद्युत अत्याधिक विद्युत चोरी हुने क्षेत्र हुन् ।

यसैगरि, चापागाउं जाने फिडर अन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउंलगायतका क्षेत्रका बासिन्दाले संगठित रुपमा विद्युतचोरी गरेको फेला परेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले बताए ।

उनका अनुसार ती क्षेत्रमा विद्युत चोरी ५० प्रतिशत भएको र बार्षिक करिव ५० करोड रुपैयाँ राजश्व गुमाइरहेको छ ।

यसरी प्रयोग गरिएको विद्युत असुरक्षित हुने हुँदा ठूलो दुर्घटनासमेत हुने सम्भावना उत्तिकै रहेको प्राधिकरणले जनाएको छ ।

विद्युत वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिनेलगायतका काम संगठितरुपमै भइरहेको प्राधिकरण लगनखेल बितरण केन्द्रका प्रमुख विरेन्द्र सिंहले बताए ।

‘चोरीका यस्ता क्रियाकलाप नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठित रुपमै हाम्रा कर्मचारीमाथि आक्रामण हुने गरेको छ’,उनले भने,‘यसमा स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वको सहयोग पनि उत्तिकै चाहिन्छ ।’

प्राधिकरणकाअनुसार, चोरी नियन्त्रणका लागि विद्युत वितरणको नांगो तारको सट्टा माइन्सुलेटेड एबीसी केवल फेर्ने, सडक वत्ति मिलाउने, ट्रान्सफर्मर फेर्नेलगायत काम व्यापक रुपमा भइरहेको छ ।

चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, प्रहरी प्रमुखसँग छलफल गरिरहेका छन् ।

ललितपुरलाई विद्युत चोरी मुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा प्राधिकरणले चालेका कदममा पूर्णरुपमा सहयोग गर्न आग्रह गरिएको बताए । ‘चोरी नियन्त्रणका लागि आवश्यक प्रणाली सुधारका लागि व्यापक कदम चालिएको छ’उनले भने,‘स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र प्रशासनले पनि सहयोग गरिदिनु पर्यो ।’

गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ । चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने र तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणको छ ।

प्रणालीमा रहेको चुहावटमध्ये बितरणतर्फ रहेको १६.८२को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्
MBL