काठमाडौं । म्याग्दी जिल्लामा ६२ मेगावाटको जलविद्युत आयोजना सञ्चालनमा आउने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६२ दशमलव १ मेवाको निलगिरी खोला जलविद्युत आयोजना सञ्चालनमा आउन लागेको हो ।
निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेड निलगिरी २ को नामममा सञ्चालनमा आउन लागेको सो आयोजना गत पुस ४ गते उद्योग विभागमा दर्ता भएको थियो । निर्माणाधिन अवस्थामा रहेको सो आयोजनाले विद्युत उत्पादनको उद्देश्यसहित उद्योग विभागमा पेस गरेको प्रस्ताव स्वीकृत भएसँगै अन्य प्रक्रियाका लागि बाटो खुलेको हो ।
त्यसो त कम्पनीले निलगिरी १ को निर्माण अघि बढाइसकेको छ ।
३८ मेगावाटको निलगिरी १ को खोलाबाट पहाडको भित्र ड्याम राख्ने, आयोजनासम्म पुग्न सडक निर्माण, मजदुरलाई आवासगृहलगायतका संरचना निर्माण कार्य शुरु गरेको जानकारी दिएको छ ।
निलगिरी २ को भने ११ किलोमिटर बाटो निर्माणको काम मात्र शुरु भएको कम्पनीले जानकारी दिएको छ ।
निलगिरी २ अयोजनाको कूल पूँजी ९ अर्ब ३३ करोड रुपैयाँ रहेको उद्योग विभागले जानकारी दिएको छ । जसमध्ये ९अर्ब २७ करोड रुपैयाँ स्थिर पूँजी र ६ करोड रुपैयाँ चालु पूँजी हो ।
आयोजना सञ्चालनमा आएसँगै १ सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने विभागले जानकारी दिएको छ ।सो आयोजनामा महेश्वरप्रकाश श्रेष्ठको लगानी रहेको छ ।
निलगिरीसँगै म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा एकैसाथ १ सय ४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । लामो समयसम्म लाइसेन्स ओगटेर बसेका कम्पनीले समेत फाइनान्सियल क्लोजर गरेर काम शुरु गरेका छन् ।
नारच्याङमा रहेका विभिन्न खोलाबाट धमाधम जलविद्युत आयोजना निर्माण शुरु भएपछी स्थानीयले रोजगारका अवसर पाउनुका साथै आर्थिक कारोबार समेत बढेको छ ।
नारच्याङमा रोवर्ट्स इनर्जी प्रालिको ४२ मेगावाटको म्रिस्ती खोला जलविद्युत् आयोजना निर्माणको क्रममा छ । सो आयोजनाको २ हजार ३ सय मिटर लामो टनेलमध्ये ९ सय ७० मिटर निर्माण सम्पन्न भएको छ भने पावर हाउस, बालुवा थिग्राउने दुईवटा पोखरी, पेनस्टकलगायतका निर्माण कार्य भइरहेको छ ।