Logo

मर्मत नहुँदा आठ लघुजलविद्युत् आयोजना बन्द

मर्मत नहुँदा आठ लघुजलविद्युत् आयोजना बन्द


बिजखबर संवाददाता
27
Shares

तेह्रथुम । आवश्यक मर्मत सम्भार र रेखदेखको अभावमा तेह्रथुममा सञ्चालित विभिन्न लघु जलविद्युत् आयोजना बन्द हुन थालेका छन् ।

जिल्लाका आधादर्जनभन्दा बढी खोलामा लघु जलविद्युत् आयोजना निर्माण भएका छन् । तीमध्ये अधिकांश मर्मत सम्भार गर्न नसकेकै कारण बन्द हुन पुगेका हुन् ।

जिल्लाका सबै गाउँसम्म केन्द्रीय प्रशारण लाइनको विद्युतीकरण पुग्न सकेको छैन । विद्युतीकरण नभएका गाउँका बासिन्दाले लघु जलविद्युत् आयोजना सञ्चालन गरेका छन् । तर त्यस्ता आयोजना निर्माण गर्दा शुरुमा केही सरकारी अनुदान पाउने भए पनि निर्माण भइसकेपछि मर्मत सम्भारका लागि रकमको व्यवस्था हुन नसक्दा त्यस्ता आयोजना बन्द हुने गरेको पाइएको छ । जिल्लाकै एक मात्र पूर्ण सरकारी लगानीको खोरुगा खोला लघु जलविद्युत् आयोजना समेत पाँच वर्षदेखि ठप्प छ ।

मेन्छ्यायेम गाउँपालिका–५ स्थित एक सय किलोवाट क्षमताको सो आयोजना मर्मतका लागि सम्बन्धित निकायले ध्यान नपु¥याउँदा करोडौँ मूल्यका उपकरण कवाडीमा परिणत भएका छन् । एक सय किलोवाट क्षमताको यो आयोजनाको सामान्य गेटबल मर्मत गर्न नसक्दा बन्द भएको एक कर्मचारीले बताए । ।

आयोजना बन्द भएपछि आयोजनाका लागि निर्माण गरिएको भौतिक संरचना र उपकरण लथालिङ बनेका छन् । यहाँ पानी ल्याउने कुलोको अवशेष मात्र बाँकी छ । पोखरी बालुवाले पुरिन लागेको छ । विद्युत् उत्पादन गृहभित्र रहेका टर्वाइन, टान्सफर्मरलगायत विद्युतीय उपकरण राम्रो हुँदाहुँदै पनि एउटा गेटबल समेत मर्मत गर्न नसक्दा अहिले त्यो आयोजना प्रयोगविहीन बनेका छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको यो आयोजना स्थानीय सिंहबाहिनी विद्युत् प्रालिले भाडामा सञ्चालन गरेको थियो ।

तर सो कम्पनीले प्राधिकरणसँगको सम्झौता तोडे पनि आयोजना नै बन्द भएको हो । उतिबेला सडक सुविधा राम्रो नभएकै कारण हेलिकप्टरबाट सामान ढुवानी गरेर निर्माण गरिएको यो आयोजनाको मर्मत सम्भारमा कसैले पनि चासो दिएको छैन ।

यो बाहेक अन्य आयोजना समुदायकै मातहतमा निर्माण भएका छन् । जिल्लामा अहिलेसम्म १६ वटा साना तथा लघु जलविद्युत् आयोजना निर्माण भएको जिल्ला समन्वय समिति, वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख इञ्जिनियर मनोजकुमार चौधरीले जानकारी दिए ।

ती आयोजना निर्माणका लागि उपभोक्तालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र अन्य दातृ संस्था तथा तत्कालीन जिविस, गाविसले लगानी गरेका छन् । समुदायमा आधारित साना तथा लघु जलविद्युत् आयोजना निर्माण गर्दा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराएको इञ्जिनियर चौधरीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्