Logo

फोहोरबाट विजुली निकाल्ने मेसिन टेकु आइपुग्यो, जडानका लागि भारतबाटै ४ जना प्राविधिक

फोहोरबाट विजुली निकाल्ने मेसिन टेकु आइपुग्यो, जडानका लागि भारतबाटै ४ जना प्राविधिक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । फोहोरबाट विजुली उत्पादन गर्ने मेसिन बुधवार काठमाडौं आइपुगेको छ । भारतबाट ३ ओटा मेसिन ल्याएकोमा एउटा टेकु आइपुगेको काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । साथै अन्य २  ओटा हेटौंडा आइपुगेको उनले बताए । ‘बाँकी दुईओटा मेसिन बिहीवारसम्म आइपुग्छ,’ उनले भने ‘त्यसलगतै जडानको प्रक्रिया शुरु गरिने छ ।’

श्रेष्ठका अनुसार ती मेसिन जडानका लागि भारतबाट ४ जना प्राविधिक आएका छन् । मुलुकलाई आगामी २ बर्षभित्र लोडसेडिङमुक्त बनाउने योजना अनुरुप काठमाडौं महानगरपालिकाले यस्तो कार्यक्रम अघि सारेको हो । महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा ‘पाइलट प्रोजेक्ट’का रूपमा फोहोरबाट ग्यास उत्पादन गर्न लागेको हो । जसमा इयुको ८० र महानगरको २० प्रतिशत लगानी हुने छ । यसका लागि करीव २ करोड लाग्ने बताइएको छ ।

दैनिक उपभोग्य वस्तुबाट निस्कने जैविक फोहोरलाई सो प्लान्टमा हालेर पेलेपछि ग्यास निस्कन्छ । सो ग्यासबाट खाना पकाउने ग्यास निस्कनुका साथै बिजुली उत्पादन पनि गर्न सकिन्छ । विशेषगरी भात, दाल, तरकारीजस्ता भान्साबाट आउने फोहोर, तरकारी बजार, फलफूल बजारका फोहोर छुट्याएर त्यसबाट ग्यास उत्पादन गरिन्छ ।
टेकुको ‘ट्रान्सपोर्ट एक्सन स्टेसन’ मा दुई डाइजेस्ट प्लान्ट राखिनेछ । प्लान्टमा फोहोर राखेर पेलिने बताइएको छ ।

प्लान्टमा जडान गरिने तीनवटा छुट्टाछुट्टै पाइपबाट ग्यास, पानी र फोहोर झर्छन् । त्यस्तै ग्यास जम्मा गर्न बेलुन राखिनेछ । पानी र फोहोर टयांकीमा जम्मा हुनेछन् । सो प्लान्टमा दिनहुँ ३ टन फोहोर पेलिने बताइएको छ । त्यसबाट २ सय ५० एमक्यु (करिब ९६ किलो) ग्यास, २ सय केजी मल र १५ सयदेखि ३ हजार लिटरसम्म पानी उत्पादन हुने छ ।

९६ किलो ग्यासबाट कम्तीमा १४ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ । महानगरपालिकाका अनुसार फोहोरबाट उत्पादन हुने ग्यास सिलिन्डरमा भर्न समस्या हुने भएकोले विजुली निकाल्न लागिएको हो ।

राज एन्ड रिवाज सप्लायर्स प्रालि, नेप्लिज वेस्ट र सिवान जेभीले कामको जिम्मा पाएका छन् । कम्पनीले १ करोड ८२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । ग्यास उत्पादन गर्ने डाइजेस्ट प्लान्ट भारतको पुनामा बनेको बताइएको छ । उपत्यकामा दिनमा ५ सय टन फोहोर उत्पादन हुन्छ । जसमध्ये ६३ प्रतिशत जैविक र अन्य अजैविक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्