Logo

फोहोरबाट विजुली असार भित्रै निकालिने , तयारी अन्तिम चरणमा

फोहोरबाट विजुली असार भित्रै निकालिने , तयारी अन्तिम चरणमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आगामी २ बर्षभित्र मुलुकलाई लोडसेडिङबाट मुक्त बनाउने योजना अनुसार काठमाडौं महानगरपालिकाले असारदेखि फोहोरबाट विजुली उत्पादन गर्न लागेको छ । उर्जाका विभिन्न वैकल्पिक स्रोतको उपयोग अन्तर्गत महानगरले योजना अघि सारेको हो ।

असारभित्रै विद्युत उत्पादन गर्ने गरि काम अघि बढाइएको काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । महानगरले दैनिक उत्पादन हुने फोहोरबाट विजुली उत्पादनको तयारी अन्तिम चरणमा पुगेको हो । ‘असारको पहिलो साता मेसिन ल्याउने र काम शुरु गरिहाल्ने छौं ’ उनले भने । महानगरले फोहोरबाट १४ किलोवाट विजुली निकाल्न लागेको हो ।

भारतबाट उपकरण आउनासाथ प्लान्ट स्थापना गरिने बताइएको छ । साथै महानगरका अनुसार सामान आएको १५ दिनमा जडान सकिने छ । उपकरणका जडान सम्वन्धित कम्पनीले नै गर्छ । महानगरले अन्य पूर्वाधार तयार गर्ने छ । उपकरण जडान गरेपछि १५ दिनमा ग्यास उत्पादन हुन्छ ।

महानगरले टेकु ट्रान्सफर स्टेसनमा संकलित फोहोरबाट विजुली निकाल्न लागिएको उनले जानकारी दिए । विजुली निकाल्नका लागि दैनिक ३ टन जैविक फोहोर प्रयोग गरिने बताइएको छ । उपत्यकामा दैनिक ४ सय ५० टन फाहोर उत्पादन हुन्छ । जसमध्ये ६३ प्रतिशत जैविक फोहोर र अन्य अजैविक हुन् ।
उपत्यकाका फोहोरको सहि प्रयोग गर्ने उद्देश्यका साथ विजुली निकाल्न लागिएको तामाङले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा फोहोरबाट विजुली निकाल्न लागेको हो । युरोपियन युनियनको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी लाग्ने बताइएको छ । जसका लागि करीव २ करोड लगानी लाग्ने छ ।

फोहोरबाट उत्पादन हुने विजुली महानगरको कार्यलयका साथै स्ट्रिट लाइटका लागि प्रयोग गरिने बताइएको छ । यो परियोजना आगामी ३ बर्षसम्म हिमालय अलाइन्स फर क्लाइमेन्ट चेन्सलाई दिन लागिएको हो । ३ बर्षपछि हिम्काले महानगरलाई हस्तान्तरण गर्ने छ । यो परियोजना सफल भएमा निकट भविष्यमै थप विजुली उत्पादन गरिने महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरले उपत्यकाको टेकुमा संकलित फोहोरबाट दैनिक ९६ केजी ग्यास, ३ सय किलोग्राम जैविक मल र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन गरिने समेत जानकारी दिएको छ । जसमध्ये फोहोरबाट उत्पादन हुने ग्यास सिलिन्डरमा भरेर विक्री गर्न कठिनाइ हुने भएकोले विजुली निकाल्न लागिएको हो । टेकुमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL