Logo

मेलम्चीलाई रु.५ अर्व ५८ करोड, २०७४ असोजभित्र उपत्यकामा पानी वितरण गरिने

मेलम्चीलाई रु.५ अर्व ५८ करोड, २०७४ असोजभित्र उपत्यकामा पानी वितरण गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले बुहप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाका लागि रु.५ अर्व ५८ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०७३ ७४ का लागि सो रकम विनियोजन गरिएको हो ।

आयोजनाको प्रथम चरणको सुरुङ र पानी प्रशोधन केन्द्र निर्माणका लागि अधिकांश कार्यहरु आगामी आवमा सम्पन्न हुने बताइएको छ । साथै उपत्यकाका सहरी क्षेत्रमा पानी वितरणका आवश्यक संरचना समेत सो आवमा सम्पन्न हुने छ । २०७४ को असोजमा उपत्यकामा पानी वितरण शुरु हुने बताइएका छ ।

मेलम्ची खानेपानी आयोजनाको दोश्रो चरण अन्तर्गत याङग्री र लार्के नदीहरुबाट दैनिक थप ३४ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याई चक्रपथ बाहिरका क्षेत्रहरुमा वितरणका लागि आवश्यक संरचनाहरुको निर्माण प्रारम्भ गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए ।

गत बैशाखदेखि मेलम्चीको पानी उपत्यका ल्याइने भनिएपनि सुरुङ निर्माणको काम नसकिएकोले अझै कुनुपर्ने भएको हो । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम तोकिएको समयमा नसकिने भएपछि अवधि थपिएको थियो । सरकारले २०७३ को वैशाखमा मेलम्चीको पानी उपत्यका भित्र्याउने प्रतिवद्धता व्यक्त गरेको थियो ।

गत वैशाख १२ गतेको भूकम्पका कारण रोकिएको काम सुरु नहुँदै असोज ६ गते भारतले अघोषित नाकाबन्दी गरेपछि ११ महिनासम्म काम प्रभावित भएको हो ।
अहिलेसम्म १४ किमीभन्दा केही बढी सुरुङ खन्ने काम भएको छ । त्यस्तै अब साढे १२ किमी सुरुङ खन्न बाँकी भएको बताइएको छ ।

सुरुङ ग्याल्थुमबाट अम्बाथान र सिन्धु, सिन्धुबाट ग्याल्थुम र सुन्दरीजल तथा सुन्दरीजलबाट सिन्धु सहायक मार्गतिर निर्माण भइरहेको छ । अम्बाथान सहायकमार्ग र मुहानमा काम गर्नका लागि सिएमसीले नेपाली कम्पनी मेगापेक र युनाइटेड बिल्डर्स इन्जिनियरिङलाई जिम्मा दिए पनि काम भने सुरु हुन सकेको छैन ।

यसअघि विसं २०६६ मा सुरुङ निर्माणको ठेक्का लिएको चिनियाँ सरकारी ठेकेदार कम्पनीले काम नगरी भागेपछि सिएमसीलाई ठेक्का दिइएको थियो । इटालीको ठेकेदार कम्पनी सिएमसीसँग सुरुङको काम विसं २०७३ असोज मसान्तमा सक्ने सम्झौता भएको हो ।

सीएमसीले ७ अर्ब ७१ करोड रुपैयाँमा मेलम्चीबाट राजधानीसम्म पानी ल्याउन सुरुङ (खन्न बाँकी २१ किलोमिटर) निर्माण गर्ने र खोलामा बाँध बनाउने ठेक्का पाएको हो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने उक्त सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्
MBL