Logo

चौधरी ग्रुपद्वारा प्रर्वद्धित मिडिल मोदी जलविद्युत आयोजना सम्पन्न, १५ दिनपछि नियमित उत्पादन सुरू हुने

चौधरी ग्रुपद्वारा प्रर्वद्धित मिडिल मोदी जलविद्युत आयोजना सम्पन्न, १५ दिनपछि नियमित उत्पादन सुरू हुने



काठमाडौं(जस)–चौधरी ग्रुपद्वारा प्रर्वद्धन गरिएको १८ मेगावाट क्षमताको मिडिल मोदी जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । मोदी खोलामा बनेको यस आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन सुरु भएको छ । मिडिल मोदी जलविद्युत आयोजना निर्माण सम्पन्न भई उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा आबद्ध भइसकेको छ । १५ दिन परीक्षण उत्पादनपछि नियमित उत्पादन सुरू हुने चौधरी ग्रुपले जनाएको छ ।

मिडिल मोदी जलविद्युत् आयोजना चौधरी ग्रुपले लगानी गरेको पहिलो आयोजना हो । जलविद्युत् उत्पादनमा प्रवेश गर्ने ग्रुपको दशक पहिलेको योजना कार्यान्वयनमा सम्बन्धित निकायबाट सहयोग नभएपछि यस क्षेत्रको प्रवेशमा केही ढिलाई भएको थियो । ग्रुपले अगाडि बढाएको आयोजना सम्पन्न भएकोमा ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले खुसी व्यक्त गर्दै नेपालको जलविद्युत् उत्पादनमा निजी क्षेत्रले उल्लेख्य योगदान गर्न सक्ने बताए ।

‘चौधरी ग्रुपले आफ्नो पहिलो जलविद्युत आयोजनाको निर्माण पुरा गरेको छ । बिजुलीको अत्यधिक खपत हुने ड्राई सिजनमा आयोजना सकिएर केन्द्रीय प्रसारण लाइनमा जोडिएकोमा हामी खुसी छौँ,’ चौधरीले भने, ‘यसबाट देशको आर्थिक विकासमा सकारात्मक योगदान पुग्नेछ ।

आर्थिक विकासका लागि पूर्वाधारहरूमा गरिने लगानीले निकै महत्वपूर्ण अर्थ राख्छ ।’ चौधरी ग्रुपले अन्य जलविद्युत् आयोजनामा पनि काम गरिरहेको जानकारी पनि उनले जानकारी दिए । पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा पावर हाउस निर्माण गरिएको आयोजनाको बाँध कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बीरेठाँटीमा रहेको छ । यस आयोजनामा दुई हजार तीन सय ९३ मिटर लामो सुरुङमार्फत् मोदी खोलाको पानी खसालिएको छ ।

प्रतिक्रिया दिनुहोस्