Logo

‘सौर्य सडक बत्ती’ मा उपभोक्ताको चासो, रु.६८ करोड बराबरको १ सय ६० ओटा निवेदन

‘सौर्य सडक बत्ती’ मा उपभोक्ताको चासो, रु.६८ करोड बराबरको १ सय ६० ओटा निवेदन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ‘सौर्य सडक बत्ती’ जडानका लागि काठमाडौं महानगरपालिकामा रु. ६८ करोड बराबरको निवेदन आएको छ । सौर्य बत्ती जडानका लागि १ सय ६० ओटा निवेदन आएको काठमाडौं महानगरपालिकाका भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा.उत्तरकुमार रेग्मीले जानकारी दिए । ‘सौर्य बत्ती जडानका लागि दैनिक विभिन्न संस्थाका प्रतिनिधि तथा व्यक्तिहरु आउने क्रम जारी छ’ उनले भने ।

त्यसमा पनि उपभोक्ता समिति तथा व्यक्तिहरुको संख्या बढी रहेको उनले बताए । १५ प्रतिशत मात्र लगानी गर्नुपर्ने भएकोले पनि उपभोक्ताको यसमा आकर्षण बढेको उनले जानकारी दिए ।

सरकारले केही समय अघि लोडसेडिङ घटाउने उद्देश्यका साथ ‘सौर्य सडक बत्ती’ कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार काठमाडौं उपत्यका भित्र १ सय ५० किलोमिटर उजयालो बनाउन लागेको हो ।
महानगरपालिका भित्रका सडक उज्यालो बनाउने उद्देश्यका साथ सौर्य बत्ती जडानका लागि प्रक्रिया अघि बढाएको हो ।

उपत्यकामा साँझमा पनि व्यापार, व्यवसाय तथा मनोरञ्जनका गतिविधि हुने भएकाले लोडसेडिङको समयमा सौर्यबत्ती जडान गर्न आवश्यक भएको डा. रेग्मीले जानकारी दिए । सौर्य बत्ती जडान पश्चात राति आवागमन सहज हुने, दुर्घटना घट्ने, आपराधिक क्रियाकलाप न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा उनको छ ।

यसरी जडान गर्न लागिएको सौर्य बत्तीका लागि उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएको छ । त्यस्तै संस्थाको हकमा सरकारले ७० प्रतिशत र संस्थाले ३० प्रतिशत लगानी गर्नुपर्ने छ ।

कुनै विद्यालय, अस्पताल, सार्वजनिक सङ्घ संस्था, सेवामूलक क्षेत्रलगायतले संस्थागत रुपमा सोलार राख्न चाहेमा ७० प्रतिशत सरकारको र ३० प्रतिशत सम्बन्धित संस्थाले नै लगानी गर्नुपर्ने नियम पनि महानगरले तय गरेको छ । डा. रेग्मीका अनुसार एउटा सौर्य बत्ती जडान गर्न पोलसमेत गरी रु १ लाखसम्म लगानी लाग्छ ।

स्थानीय जनताको प्रत्यक्ष सहभागिता र लगानी रहने यो कार्यक्रमअन्तर्गत १० हजारवटा पोलमा बत्ती जडान गर्ने लक्ष्य सरकारको छ । जसबाट केन्द्रीय ग्रिडमा ६ मेगावाट बिजुलीको भार कम हुने बताइएको छ । स्थानीय विकास मन्त्रालयले नगरपालिकाहरूमार्फत तत्कालका लागि १ अर्ब रुपैयाँको यो कार्यक्रम ल्याएको हो ।

सौर्य बिजुलीले सहरी क्षेत्रका करिब ७ सय किलोमिटर सडक उज्यालो बनाउने योजना छ । यसमा स्थानीय निकाय र जनस्तरबाट अनिवार्य रूपमा सरकारी लगानीमा साझेदारी गर्नुपर्ने मापदण्ड समेत तयार गरिएको छ ।

मन्त्रालयले सहमती दिएको १५ दिनभित्र सौर्य बत्ती जडानको काम शुरु गरिने उनले जानकारी दिए । ‘हामी पूर्व तयारी अवस्थामा छौं ’ उनले भने ‘सरकारले सहमती दिएसँगै काम अघि बढाउछौं । ’

प्रतिक्रिया दिनुहोस्
MBL