Logo

सौर्य सडक बत्ती जडानको प्रक्रिया अघि बढ्यो,महानगरबासीले देखाए विशेष चासो

सौर्य सडक बत्ती जडानको प्रक्रिया अघि बढ्यो,महानगरबासीले देखाए विशेष चासो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘सौर्य सडक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाएको छ । महानगरपालिका भित्रका सडक उज्यालो बनाउने उद्देश्यका साथ सौर्य बत्ती जडानका लागि प्रक्रिया अघि बढाएको भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीले बताए । सौर्य बत्ती जडानका लागि निवेदन दिन सार्वजनिक सूचना समेत जारी गरिसकेको उनले जानकारी दिए ।

उनका अनुसार सौर्य प्रणाली जडानका लागि सार्वजनिक सूचना जारी गरेसँगै यसप्रति चासो बढेको छ । ‘सौर्य बत्तीबारे बुझ्न दैनिक विभिन्न संस्थाका प्रतिनिधि तथा व्यक्तिहरु आउने क्रम जारी छ’ उनले भने । तर हालसम्म कसैको पनि आवेदन भने नपरेको रेग्मी बताउँछन् । ‘सौर्य बत्तीप्रति धेरैले चासो देखाए पनि अन्तिम समयमा काम गर्ने बानी भएकोले हालसम्म निवेदन नदिएको हो,’ उनले भने ‘यसमा उत्साहजनक निवेदन आउने अपेक्षा छ ।’

लोडसेडिङको समयमा राजधानी सहर पुरै अँध्यारो भएकोले उज्यालो बनाउन सौर्यबत्ती जडान गर्न लागेको हो । उपत्यकामा साँझमा पनि व्यापार, व्यवसाय तथा मनोरञ्जनका कार्यक्रम हुने भएकाले सौर्यबत्ती जडान गर्न आवश्यक भएको डा. रेग्मीले जानकारी दिए । ‘त्यसमा पनि राजधानी त सधँ उज्यालो हुनुपर्छ भन्ने मान्यता छ ’ उनले भने । त्यस्तै राति आवागमन सहज हुने, दुर्घटना घट्ने, आपराधिक क्रियाकलाप न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा सहित यस्तो कार्यक्रम लागु गर्न लागिएको बताइएको छ ।

यसरी जडान गर्न लागिएको सौर्य बत्तीका लागि उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएको छ । त्यस्तै संस्थाको हकमा सरकारले ७० प्रतिशत र संस्थाले ३० प्रतिशत लगानी गर्नुपर्ने छ ।

कुनै विद्यालय, अस्पताल, सार्वजनिक सङ्घ संस्था, सेवामूलक क्षेत्रलगायतले संस्थागतरुपमा सोलार राख्न चाहेमा ७० प्रतिशत सरकारको र ३० प्रतिशत सम्बन्धित संस्थाले नै लगानी गर्नुपर्ने नियम पनि महानगरले तय गरेको छ ।

डा. रेग्मीका अनुसार एउटा सौर्य बत्ती जडान गर्न पोलसमेत गरी रु १ लाखसम्म लगानी लाग्ने छ । कुन स्थानमा कति बत्ती जडान गरिने बारे भने अहिलै तयार भइनसकेको उनले जानकारी दिए । ‘आवदेनअनुसार मात्रै कुन स्थानमा कति बत्ती जडान गर्ने, संस्थागत र व्यक्तिगसँगै लागतसमेतको आँकलन गर्ने छौं’ उनले भने । तर सार्वजनिक सरोकार रहेका स्थानलाई प्राथमिकतामा राखिने रेग्मीले बताए ।

सरकारले केही समय अघि लोडसेडिङ घटाउने उद्देश्यका साथ ‘सौर्य सडक बत्ती’ कार्यक्रम घोषणा गरेको थियो । स्थानीय जनताको प्रत्यक्ष सहभागिता र लगानी रहने यो कार्यक्रमअन्तर्गत १० हजारवटा पोलमा बत्ती जडान गर्ने लक्ष्य सरकारको छ । जसबाट केन्द्रीय ग्रिडमा ६ मेगावाट बिजुलीको भार कम हुने बताइएको छ ।

स्थानीय विकास मन्त्रालयले नगरपालिकाहरूमार्फत तत्कालका लागि १ अर्ब रुपैयाँको यो कार्यक्रम ल्याएको हो । सौर्य बिजुलीले सहरी क्षेत्रका करिब ७ सय किलोमिटर सडक उज्यालो बनाउने योजना छ । यसमा स्थानीय निकाय र जनस्तरबाट अनिवार्य रूपमा सरकारी लगानीमा साझेदारी गर्नुपर्ने मापदण्ड समेत तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL