Logo

उपत्यकाको फोहोरबाट १४ किलोवाट विजुली निकालिदै, तयारी अन्तिम चरणमा

उपत्यकाको फोहोरबाट १४ किलोवाट विजुली निकालिदै, तयारी अन्तिम चरणमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरबाट विजुली निकाल्ने तयारी गरेको छ । महानगरले दैनिक उत्पादन हुने फोहोरबाट विजुली उत्पादनको तयारी अन्तिम चरणमा पुगेको हो । जसअनुसार आगामी ३ महिनाभित्र १४ किलोवाट विजुली निकाल्न लागिएको महानगरका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले बताए ।

टेकु ट्रान्सफर स्टेसनमा संकलित फोहोरबाट विजुली निकाल्न लागिएको उनले जानकारी दिए । विजुली निकाल्नका लागि दैनिक ३ टन जैविक फोहोर प्रयोग गरिने बताइएको छ । उपत्यकामा दैनिक ४ सय ५० टन फाहोर उत्पादन हुन्छ । जसमध्ये ६३ प्रतिशत जैविक फोहोर हुन् ।

उपत्यकाका फोहोरको सहि प्रयोग गर्ने उद्देश्यका साथ विजुली निकाल्न लागिएको श्रेष्ठले जानकारी दिए । काठमाडौं महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा फोहोरबाट विजुली निकाल्न लागेको हो । युरोपियन युनियनको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी लाग्ने बताइएको छ । जसका लागि करीव २ करोड लगानी लाग्ने छ ।

फोहोरबाट उत्पादन हुने विजुली महानगरको कार्यलयका साथै स्ट्रिट लाइटका लागि प्रयोग गरिने बताइएको छ । यो परियोजना आगामी ३ बर्षसम्म हिमालय अलाइन्स फर क्लाइमेन्ट चेन्सलाई दिन लागिएको हो । ३ बर्षपछि हिम्काले महानगरलाई हस्तान्तरण गर्ने छ ।

यो परियोजना सफल भएमा निकट भविष्यमै थप विजुली उत्पादन गरिने महानगरपालिकाले जानकारी दिएको छ । महानगरले उपत्यकाको फोहोर टेकुमा संकलित फोहोरबाट दैनिक ९६ केजी ग्यास, ३ सय किलोग्राम जैविक मल र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन गरिने समेत जानकारी दिएको छ । जसमध्ये फोहोरबाट उत्पादन हुने ग्यास सिलिन्डरमा भरेर विक्री गर्न कठिनाइ हुने भएकोले विजुली निकाल्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्