Logo

देशकै ठूलो स्टिल विलेट उद्योग ‘सर्वोत्तम’ बैशाख १५ देखि संचालनमा, साढे ६ अर्ब लगानी, २५ प्रतिशत आयात प्रतिस्थापन

देशकै ठूलो स्टिल विलेट उद्योग ‘सर्वोत्तम’ बैशाख १५ देखि संचालनमा, साढे ६ अर्ब लगानी, २५ प्रतिशत आयात प्रतिस्थापन



काठमाडौं । व्यावसायिक घराना सौरभ समूहले देशकै ठूलो स्टिल बिलेट उद्योग संचालनमा ल्याउने भएको छ । सो समुहले बाराको परवानीपुरमा २०७८ बैशाख १५ गतेदेखि देशमै सबैभन्दा ठूलो सर्वोत्तम स्टिल बिलेट उद्योग संचालनमा ल्याउन लागेको हो ।

परवानीपुर–ड्राईपोर्ट सडकखण्डमा रहेको उद्योग संचालनका लागि अन्तिम चरणमा पुगेको र बैंशाख १५ गतेदेखि उत्पादन नै शुरु गर्ने सौरभ समुहका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए । उद्योगले डन्डी बनाउने कच्चा पदार्थ बिलेट उत्पादनका साथै सोबाट डण्डी समेत बनाउने छ । उद्योगले भारत, इरानलगायतका मुलुकमा स्पञ्ज आईरन (बिलेट बनाउने कच्चा पदार्थ) ल्याएर स्टिल विलेट उत्पादन गर्ने छ । नेपालमै स्टिल बिलेट उत्पादन गरेर डण्डी उत्पादन गर्दा खर्च समेत कम लाग्नेछ ।

कुल साढे ६ खर्ब रुपैयाँको लगानीमा संचालनमा आउन लागेको सो उद्योगको वार्षिक ३ लाख मेट्रिकटन बिलेट र १ लाख मेट्रिकटन डन्डी उत्पादन क्षमता रहेको छ । जसमा स्थिर पूँजी साढे ३ अर्ब र चालू पूँजी ३ अर्ब लगानी रहेको छ । ‘अहिले प्रायःजसो नेपाली उद्योगले भारतबाट विलेट (तयारी फालम) ल्याएर डण्डी उत्पादन गर्दै आएका छन्,’ न्यौपानेले भने, ‘हाम्रो उद्योग संचालनमा आएसँगै नेपाली डण्डी उद्योगका लागि आवश्यक २५ प्रतिशत बिलेट नेपालमै उत्पादन गर्न सकिनेछ ।’

उक्त उद्योग संचालनमा आएसँगै एमएस बिलेट (तयारी फलाम) खरिदका लागि बाहिँदै आएको विदेशी मुद्राको समेत बचत हुने न्यौपानेले जानकारी दिए । ‘नेपाली डण्डी उद्योहरुले बार्षिक ७० अर्ब रुपैयाँको एमएस बिलेट आयात गर्दै आएको छ,’ उनले भने, ‘यदि सरकारले सहजीकरण गरिदिएर नेपालमै स्टिल बिलेट उत्पादन गर्ने हो भने एमएस बिलेट आयातका लागि बाहिरिँदै आएको कुल रकमको ५० प्रतिशत रकम नेपालमै बस्ने छ ।’ साथै सौरभ समुहले संचालनमा ल्याउन लागेको सो उद्योग पूर्ण क्षमतामा संचालनमा आएमात्रै पनि हाल भैरहेको कुल आयातको २५ प्रतिशत हिस्सा प्रतिस्थापन गर्न सकिने उनको भनाई छ ।

सरकारले हाल स्पन्ज आईरन (कच्चा पदार्थ) र एमएस बिलेट (तयारी फलाम) आयातमा एउटै भन्सारदर लगाउँदै आएको छ । स्पञ्ज आइरन ल्याएर नेपालमै एमएस बिलेट उत्पादन गर्दा ५० प्रतिशतभन्दा बढी भ्यालु एड हुने भएपनि सरकाले तयारी र कच्चा पदार्थ आयातमा एउटै भन्सारदर कायम गरिदिँदा स्टिल, बिलेट उद्योगहरु फस्टाउन नसकेको न्यौपानेको तर्क छ । यदि सरकारले स्पन्ज आईरन (कच्चा पदार्थ) र एमएस बिलेट (तयारी फलाम) मा १० प्रतिशतमात्रै भन्सारदर फरक गरिदिने हो भने फलाम आयातको लागि बाहिरिँदै आएको ५० प्रतिशत रकम नेपालमै बस्ने उनको दाबी छ ।

सो उद्योगमा सौरभ ग्रूप र वीरगन्जका व्यवसायी राजेश अग्रवालको संयुक्त लगानी रहेको छ । जसमा सौरभ ग्रूपको ६० र अग्रवालको ४० प्रतिशत लगानी रहनेछ । सो उद्योग करिव १६ बिघा क्षेत्रफलमा फैलिएको छ । सो उद्योग पूर्ण रुपमा संचालनका लागि मात्रै ४२ मेगावाट विद्युत आवश्यक पर्ने छ । जसमध्ये नेपाल विद्युत् प्राधिकरणले उद्योगलाई २५ मेगावाटको स्वीकृति दिइसकेको छ । यसका लागि लागि ३३ हजार केभिएको सबस्टेसन निर्माण गरिएको न्यौपानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL