Logo

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा ८.४२ प्रतिशत लाभांश घोषणा, विज्ञ सञ्चालकमा डा आत्रेय नियुक्त

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा ८.४२ प्रतिशत लाभांश घोषणा, विज्ञ सञ्चालकमा डा आत्रेय नियुक्त



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष ०७६–७७ को लागि ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ । सोही पूँजीको आधारमा बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

यस्तै इन्स्योरेन्स कम्पनीको विज्ञ सञ्चालकमा डा बिनोद आत्रेय नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले डा आत्रेयलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक डा आत्रेयले एक कार्यकाल अर्थात आगामी चार वर्षसम्म संस्थाको कार्यभार सम्हाल्ने छन् ।

यसअघि उनी सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालक थिए । उक्त पदमा चार वर्षे कार्यकाल सकिएसँगै सो कम्पनीबाट बिदा भएका हुन् । उनले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए ।

राष्ट्र बैंकमा रहँदा उनले नेपाल बैंकमा करिव ३ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका थिए । हाल उनी व्यवसायिक घराना विशाल ग्रुप निकट भएर विभिन्न कम्पनीको जिम्मेवारी समाल्दै आएका छन् । डा आत्रेय हाल इमर्जिङ्ग नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत छन् ।

प्रतिक्रिया दिनुहोस्