काठमाडौं । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई सर्लाही पुर्याईएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । सञ्चालक अग्रवाललाई आज सर्लाही पुर्याईएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
उनले जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्धमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला ल्याइएको जानकारी दिए । उनका अनुसार सर्लाही प्रहरीको पत्रचारकै आधारमा अग्रवाललाई काठमाडौँमा पक्राउ गरिएको थियो । अग्रवालविरुद्ध १७ करोड माग दाबी गर्दै उखु उत्पादक किसानले जाहेरी दिएका थिए । सोमध्ये उनले १२ करोड ६३ लाख ७२ हजार १ सय ९८ रुपैयाँ तिरिसकेको बताइएको छ । ‘अग्रवाल पक्राउ परेको खबर पाएपछि थप किसानको पनि जाहेरी आउनसक्छ’, प्रहरी उपरीक्षक राठौरले भने ‘काठमाडौँमा पक्राउ परेका अग्रवाललाई सर्लाही ल्याइएको छ ।’
उखुको भुक्तानी नपाएपछि किसानले काठमाडौँसम्म पुगेर आन्दोलनसमेत गरेका थिए । यसपछि गृहमन्त्रालयले चिनी उद्योगका सञ्चालकलाई पक्राउ गरेर भए पनि किसानका रकम प्रदान गर्ने प्रक्रिया शुरुआत भएको थियो । रासस