Logo

तत्कालका लागि आधा सिलिण्डर ग्यास वितरण गर्दै निगम

तत्कालका लागि आधा सिलिण्डर ग्यास वितरण गर्दै निगम


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल आयाल निगमले तत्कालका लागि आधा सिलिण्डर ग्यास उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यकामा ग्यासको उच्च अभाव हुँदै गएपछि तत्कालका लागि आधा÷आधा सिलिण्डर ग्यास भएपनि वितरण गर्न लागिएको नेपाल आयाल निगमका महाप्रवन्धक गोपालबहादुर खड्काले बताए ।

खड्काका अनुसार दशै अघि नेपाल भित्रिएर तराइमा रहेका ग्याँसलाई काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्न लागिएको हो । ‘हामीले नेपाल भित्रिएर तराइमा आइपुगेका ग्याँसलाई काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘यो हप्ताभित्र काठमाडौं उपत्यकाका जनतालाई आधा/आधा सिलिण्डर ग्याँस भएपनि वितरण गर्ने छौं ।’ दशै अघि र हालै मात्र सीमा नाकाबाट तराइमा भित्रिएका ग्याँस काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्न सकिए तत्कालका लागि समस्या समाधान हुने समेत खड्काको दावी छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले तराइमा रहेका ग्याँस उद्योगीहरुलाई यहि कात्तिक ७ गते आफुसँग भएको ग्याँसको ७५ प्रतिशत ग्याँस काठमाडौं उपत्यकामा पठाउन निर्देशन दिएको छ । साथै, सो व्यवस्था मिलाउनका लागि गृह मन्त्रालयलाई पत्राचार समेत गरिसकेको वाणिज्य स्रोतले जानकारी दिएको छ । यता गृह मन्त्रालयले पनि सोही अनुरुप ग्याँस ल्याउनका लागि पहल शुरु गरिसकेको जानकारी दिएको छ । तराइमा रहेका ग्याँस उद्योगीहरुले आफुसँग भएको ग्याँसको २५ प्रतिशत भने स्थानी स्तरमा विक्री वितरण गर्नेछन् ।

हाल व्यवसायीहरुले पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) गरिसकेको ग्याँस मात्र ल्याउन सके समस्या समाधान हुने नेपाल एलपी ग्याँस उद्योग संघका महासचिव कुश मल्लीले बताए । ‘हाल व्यवसायीले झण्डै १ सय बुलेट ग्याँसका लागि पीडीओ लेटर पठाइसकेका छन्,’ उनले भने, ‘मथुरा रिफाइनरीबाट ग्याँस लोडिङ नहुँदा समस्या भएको छ ।’ केही समय अघि नेपाल आयाल निगमले बरौनी रिफाइनरीबाट ग्याँस ल्याउँदा समस्या हुने भन्दै मथुरा रिफाइनरीबाट ग्याँस लोडिङ गरिदिन इण्डियन आयल कर्पोरेशनलाई पत्राचार गरेको थियो । तर, हालसम्म मथुराबाट ग्याँस लोडिङ नभएको मल्लीले जानकारी दिए । यदि मथुराबाट लोडिङ भएमा सुनौली नाकाबाट सहज रुपमा ग्याँस ल्याउन सकिने व्यवसायीहरुको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL