काठमाडौं । चालु आर्थिक बर्ष २०७७–७८ को पहिलो ३ महिनामा ६ हजार ६ सय बढी कम्पनी तथा फर्महरु दर्ता भएका छन् । कम्पनी रजिष्टार कार्यालयको तथ्यांकअनुसार गत साउन १ गतेदेखि असोज २३ गतेसम्म ६ हजार ६ सय ५३ फर्महरु दर्ता भएका हुन् ।
तथ्यांकमा ६ हजार ६ सय ५३ फर्महरु दर्ता भएको भएपनि कार्यालयका अनुसार उक्त अवधिमा विभिन्न फर्म तथा कम्पनीहरु महिलाको नाममा १ हजार २ सय १० ओटा दर्ता भएका छन् भने पुरुषको नाममा मात्रै ६ हजार ५७ फर्महरु दर्ता भएका छन् । लामो समय कोरोना संक्रमणले प्रभाव पारेपनि कम्पनी दर्ता भने उत्साहजनक रहेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार गत बर्ष यही अवधिमा भने ७ हजार २ सय ४२ फर्म तथा कम्पनीहरु दर्ता भएका थिए । पछिल्लो ७ महिनादेखि विश्वभर फैलिएको कोरोना भाईरसको महामारी र यसले निम्त्याएको लकडाउन र निशेधाज्ञामा पनि कम्पनी दर्तामा खासै प्रभाव नपरेको र कम्पनी दर्ताको संख्या गत बर्ष र हाल उस्तै–उस्तै रहेको कार्यालयका रजिष्टरार तथा प्रवक्ता रामप्रसाद ढकाल बताउँछन् । निशेधाज्ञामा पनि कम्पनी दर्ताको काम भईरहेपनि अन्य समयको तुलनामा भने कम भएको उनले बताए ।
यो अवधिमा आयात निर्यातलगायत पसलहरुको दर्ता उल्लेख्य रुपमा भएको उनको भनाई छ । त्यसमा पनि खासगरी आयात निर्यातका कम्पनीहरु बढी दर्ता भएको उनको बुझाइ छ । कम्पनी रजिष्टार कार्यालयमा हालसम्म ३० हजार ५३ खर्ब अधिकृत पूँजी भएका २ लाख ३७ हजार ९ सय २० ओटा कम्पनी दर्ता भएका छन् । उक्त कम्पनीहरुमध्ये २ लाख ३३ हजार ४६ ओटा कम्पनी निजी छन् भने २ हजा ९ सय ४३ ओटा कम्पनी नाफा वितरण नगर्ने कम्पनी रहेका छन् ।
यस्तै १ हजार ६ सय ११ ओटा पब्लिक कम्पनी दर्ता हुँदा हालसम्म विदेशी फर्म भने जम्मा ३ सय २० ओटा दर्ता भएका छन् । प्रदेशअनुसार हालसम्म सबैभन्दा बढी १ लाख ७१ हजार ४ सय ७ ओटा कम्पनी बाग्मति प्रदेशमा मात्रै दर्ता भएका छन् । यस्तै सबैभन्दा कम कम्पनी वा फर्महरु भने कर्णाली नम्बर प्रदेशमा दर्ता भएका कार्यालयले जानकारी दिएको छ । कर्णाली प्रदेशमा हालसम्म जम्मा २ हजार ७ सय ३१ ओटा फर्म वा कम्पनीहरु दर्ता भएका हुन् ।