Logo

सरकारी दोधारे नीतिका कारण व्यवसायीका मालसामान बाटोमै अलपत्र, नाकामै रोकियो सयौं ट्रक

सरकारी दोधारे नीतिका कारण व्यवसायीका मालसामान बाटोमै अलपत्र, नाकामै रोकियो सयौं ट्रक



काठमाडौं । सरकारले जारी राखेको निषेधाज्ञाका कारण उद्योगी व्यवसायीको सयौं ट्रक मालसामान बाटोमै अलपत्र परेका छन् । भारत लगायत तेस्रोत मुलुकबाट आयात गरिएका उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थदेखि तयारी बस्तुहरु निषेधाज्ञाका कारण गन्तव्यमा पुर्याउन नसक्दा लामो समयदेखि बाटोमै अलपत्र परेका हुन् ।

राजस्व संकलनका लागि भान्सार नाकाबाट उद्योग व्यवसायीलाई तत्काल सामान छुटाउन ताकेता गर्ने तर नेपाल भित्र निषधाज्ञाका कारण देखाउँदै सवारी आवागमनमा रोक लगाएको भन्दै प्रहरीले बीच बाटोमै रोकिँदा सामान बोकेर आएर सयौं ट्रकहरु बाटोमै अलपत्र परेका सम्बद्ध व्यवसायीहरुले बताएका छन् । लकडाउनको अबधिमा भन्सार नाकाबाट छुटेका २ सयभन्दा बढी ट्रकहरु काठमाडौं छिर्ने मुख्य नाका नागढुंगामा लामो समयदेखि अलपत्र परेर बसेको नेपाल चेम्बर अफ कमर्स भन्सार समितिका सभापति निरज राईले जानकारी दिए ।

‘भन्सार विभागले भन्सार विन्दुमा सामान आईपुग्ने वित्तिकै छुटाउन ताकेका गर्छ,’ उनले भने, ‘व्यवसायी राजस्व तिरेर भन्सार नाकाबाट मालसामान छुटाउँछन् तर नेपाल भित्रका विभिन्न नाका नाकामा प्रहरीले निषेधाज्ञा भन्दै रोकिदिएका छन् ।’ सरकारी निकायहरुबीच आन्तरिक कोर्डिनेशन नहुँदा पछिल्लो समय उद्योग व्यवसायीले मालसामान आयात गर्दा दुख पाईरहेको समेत उनले जानकारी दिए ।

भन्सार प्रशासनले उद्योग कलकारखानामा पुर्याउनका लागि भन्सार विन्दुबाट छुटाइदिएको मालसामानलाई सहज रुपमा गन्वयमा पुग्न दिनुपर्ने समेत उनको भनाई थियो । ‘यदि भन्सार प्रशासनले लकडाउन वा निषेधाज्ञामा कुनै पनि मालामासन आयात गर्न नमिल्ने भन्दिएको भए उद्योगी व्यवसायीले ठूलो रकम खर्च गरेर एलसी वा टीटी लगाउने थिएनन्,’ उनले भने, ‘राज्यको एउटा निकायले आयात गर्न दिने तर अर्को निकायले उक्त गन्तव्यमा पुग्न नदिई बाटोमै रोकिदिँदा उद्योगी व्यवसायीको मालसामान विग्रनुका साथै सोही अनुरुप डिटेन्सन चार्ज समेत बढेको छ ।’

उद्योगी व्यवसायीको मालसामान बाटोमा रोक्नुभन्दा भन्सार विन्दुबाटै अहिलेको अवस्थामा कुन कुन सामान आयात गर्न पाउने कुन नपाउने भनेर तोकिदिनुपर्ने उनको तर्क थियो । ‘यदि राज्यले अहिलेको अवस्थामा कुन सामान उद्योगी व्यवसायीले आयात गरेर सहज रुपमा आफ्नो उद्योग कलकारखानासम्म पुर्याउने पाउँछन् कुन कुन पाउँदैनन् भनेर तोकिदिएमा व्यवसायीहरुको ठूलो रकम अनावश्यक रुपमा खर्च हुनबाट जोगिने थियो,’ उनले भने, ‘राजस्व आउँछ भनेर भन्सार विन्दुबाट छुटाईदिने तर बीच बाटोमा रोकिदिँदा व्यवसायीले ठूलो घाटा व्यहोर्नु परेको छ ।’

बर्षातको समयमा बीच बाटोमा मालसामान बोकेको ट्रक रोकिँदा पहिरो पनि उत्तिकै डर भएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । लाखौं मुल्य बराबरका सामान प्रहरीले गन्तव्यमा पुर्याउन नदिइ बाटोमै राकिदिँदा उद्योगी व्यवसायीलाई थप पिडा भएको समेत एक व्यवसायीले जानकारी दिए ।

लामो समयसम्म मालसामान बोकेका ट्रकका चालक तथा सहचालक बाटोमै रोकिनुपर्दा उनीहरुका कोरोना संक्रमणको जोखिम समेत बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । ‘अहिले विभिन्न नाकामा गरेर ३ सयभन्दा बढी मालसामान बोकेका ट्रक रोकिँदा चालक र सहचालक गरी ६ सयभन्दा बढी व्यक्तिहरु बाटोमै अलपत्र छन्,’ एक व्यवसायीले भने, ‘उनीहरु निषेधाज्ञाका कारण एकातर्फ भोकभोकै बस्नु परेको छ भने अर्को तर्फ धेरै मानिस एकै ठाउँमा रोकिदा कोरोना संक्रमणको त्रास पनि उत्तिकै छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL