Logo

कुश मल्लीले २१ करोड ५० लाखमा किने खेतानको एचपी ग्यास, थप १५ करोड लगानीमा अटोमेटेड प्लाण्ट राख्दै

कुश मल्लीले २१ करोड ५० लाखमा किने खेतानको एचपी ग्यास, थप १५ करोड लगानीमा अटोमेटेड प्लाण्ट राख्दै



काठमाडौं । खेतान समुहको एचपी ग्याँस कुश मल्लीले खरिद गरेका छन् । धादिङको धार्केमा रहेको एचपी ग्यासको प्लान्ट नेपाल ग्याँस उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवं राजधानी ग्याँसका सचालक मल्लीले खरिद गरेका हुन् ।

उक्त ग्याँस उद्योग २१ करोड ५० लाख रुपैयाँमा खरिद गरेको मल्लीले जानकारी दिए । ‘हामीले उद्योग रहेको जग्गा बाहेक ग्याँस प्लाण्ट र सिलिण्डर मात्र २१ करोड ५० लाख रुपैयाँमा गरिद गरेका हौं,’ उनले भने, ‘१ बर्षसम्म उक्त ग्याँस उद्योगलाई सोही जग्गाबाट संचालन गर्नेछौं त्यसपश्चात आफ्नौ जग्गामा स्थानान्तरण गर्ने छौं ।’

धादिङको धार्केमा रहेको उक्त ग्याँस उद्योग जग्गा ३३ रोपनी रहेको छ । तर आफुहरुले त्यसलाई स्थानान्तरण गर्दै सोही स्थानमा रहेको आफ्नै ३४ रोपनी जग्गामा ग्याँस प्लाण्ट राखिने समेत उनले जानकारी दिए ।

साथै आफुहरुले थप १५ करोड रुपैयाँ लगानी गरेर स्वचालित प्लाण्ट राखिने समेत उनले बिजखबरलाई बताए । ‘अहिले उक्त प्लाटबाट म्यानुअल्ली ग्याँस भर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अब त्यसमा लगानी थप गरेर अटोमेटेड प्लाण्ट राख्नुका साथै क्षमता समेत बढाउने छौं ।’

हाल ग्याँस उद्योगको दैनिक दक्षमता ३ हजार सिलिण्डर क्षमता छ । अबका दिनमा यसलाई वृद्धि गरेर दैनिक १२ हजार सिलिण्डर भर्ने क्षमता बनाईने मल्लीले जानकारी दिए । एचपी ग्याँसले हाल देशभर २ लाख ९० हजार सिलिण्डरमार्फत ग्याँस बिक्री वितरण गर्दै आएको छ ।

जसमध्ये ९० प्रतिशत बजार काठमाडौंमा रहेको छ भने पोखरा तथा गोरखा लगायतका स्थानमा १० प्रतिशत बजार हिस्सा रहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL