Logo

एफएनसीसीआईले भन्यो : बैंकको फोनले व्यवसायीहरू पलायन हुने अवस्थामा पुगे, कर्जाको साँवा र ब्याज तिर्ने समय बढाईयोस

एफएनसीसीआईले भन्यो : बैंकको फोनले व्यवसायीहरू पलायन हुने अवस्थामा पुगे, कर्जाको साँवा र ब्याज तिर्ने समय बढाईयोस



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुलाई बुझाउनुपर्ने साँवा र ब्याज भुक्तानीको समयावधि बढाउन माग गरेको छ । बैंक तथा वित्तिय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय संचालन गरीरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायीहरू गम्भीर संकटमा परेको भन्दै महासंघले उक्त माग गरेको हो ।

महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्न बैंक तथा वित्तिय संस्थाहरूको बारम्बारको ताकेताबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको जानकारी दिएको छ ।

यसैका कारण कैयन उद्यमी व्यवसायीहरु पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो परिस्थिति निर्माण भैरहेको विज्ञप्तीमा उल्लेख छ । इतिहासमै अत्यन्त कम मात्र देखापर्ने यस प्रकारको कठिनतम घडीमा अर्थतन्त्रका महत्वपूर्ण आधार उद्योग व्यवसाय बचाउनु राज्यको प्रमुख दायित्व भएकाले २०७६ चैत्रदेखि सबै उद्योग व्यवसायले वित्तिय संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने साँवा, ब्याजको समयावधि, स्थिति अनुकुल भई अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्म बढाउन आग्रह गरेको हो ।

यस्तै महासंघले ब्याजलाई पूँजीकरण गरी कर्जाको पुनरसंरचना र पुनर्तालिकिकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको छ । साथै आगामी आर्थिक वर्षको मौद्रिक नीति यही असार मसान्तसम्म ल्याउन पनि महासंघले राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

उद्योग व्यवसाय बचाउनेतर्फ नेपाल सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने र मुलुक थप भयावहको स्थितितर्फ जान सक्ने हुंदा यस्तो माग गरेको महासंघको भनाई छ । यस्तै महासंघले आफ्ना मागहरु चाँडै पुरा गर्न समेत आग्रह गरेको छ ।

कोरोनाको महाव्याधीका कारण विश्वसहित नेपालपनि झण्डै ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रहयो । उक्त समयमा मुलकभित्र अत्यावश्यक वाहेक सम्पूण उद्योग व्यवसाय ठप्प रहन पुगे ।

असार १ गते पश्चात लकडाउनको स्वरूपमा केही परिवर्तन गरी आम मानिसको दैनिक जीवनयापनदेखि अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको निर्णय वमोजिम केही सहजताको महशुस गरिएपनि सार्वजनिक यातायातको संचालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा संचालनमा आउन सकेका छैनन ।

यस्तै चलेका पनि क्षमताको ३०÷४० प्रतिशतमात्रमा संचालनमा रहेका छन् । उत्पादित मालवस्तु निर्वाध बजारसम्म पुर्याई विक्रीवितरण गरी नगद प्रवाह हुन नसकेको यथार्थ अवस्था छ । समग्रमा अर्थतन्त्र चलायमान बन्न नसक्दा यससंग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम जनताको दैनिक जीवनयापन समेत अत्यन्त कठिन बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्