काठमाडौं । विश्व कोरोना भाईरसको महामारीको चपेटामा छ । विश्वको आधा जनसंख्या घरभित्रै सिमित छ । उद्योगधन्दा बन्द छन, यातायात ठप्प छ मानिसहरुले सिमिति कामहरु मात्रै घरबाट गरिरहेका छन् । केहीले अत्यावश्यक कामका लागि मात्र सुरक्षा अपनाएर फिल्डमै गएर पनि काम गरिरहेका छन ।
नेपाल पनि यसको महामारीबाट अछुतो रहन सकेन र हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ भने परीक्षण पनि त्यही अनुसार भईरहेको छ । नेपालको अर्थतन्त्रमा पनि सोही अनुरुप असर परेको छ । उद्योगधन्दाहरु बन्द हुँदा विद्युतको खपत पनि प्रतिदिन जम्मा ५ सय मेगावाट मात्रै छ । जुन सामान्य अवस्थाको तुलनामा ज्यादै कम हो ।
तर देशभरका कलकारखाना, उद्योगधन्दाहरु बन्द हुँदा विद्युत उत्पादनभन्दा माग धेरै कम छ । माग कम हुँदा पनि पछिल्लो केही दिनयता समय समयमा विजुली गएर उपभोक्ताहरु हैरानी खेप्न बाध्य भएका छन् । सामान्य परिस्थितीमा ५÷१० मिनेट लाईन गएर आउने गरे पनि पछिल्लो समय घण्टौंसम्म बत्ती नआउँदा के अघोषित लोडसेडिङ त भएको हैन भनेर उपभोक्ताहरु अड्कलबाजी लगाउन थालेका छन् ।
तर नेपाल विद्युत प्राधकिरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने यसरी विजुली जानुमा कसैको व्यक्तिगत निर्णय तथा लोडसेडिङ केही पनि नभएको बताउँछन् ।
त्यसो भए कीन जान्छ बत्ती ?
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बत्ती जानुमा प्रकृतिकै दोष रहेको बताउँछन् । उनले विजुलीमा आउने समस्यालाई समयसँग दाँजेर राम्रो र नराम्रो गरी
३ सिजनमा विभाजन गरेका छन । प्राधिकरणका ग्राहकले विद्युतीय समस्या झेल्ने खासगरी मौसमका कारणले हो ।
कार्यकारी निर्देशक घिसिङका अनुसार बैशाख देखि साउनसम्मको एक समय र अर्को भदौ देखि फागुनसम्म विद्युतका समस्याहरु हुने र नहुने गरी छुट्याईएको छ । पहिलो भदौदेखि फागुनसम्मको समयमा प्राकृतिक विपत्ती कम आउने हुनाले यस्तो बेलामा विद्युतीय समस्याहरु कमै आउँछन ।
तर जाडो महिनामा पानी परेपछि तारमा महिनौदेखि अड्किएको धुलो भिजेर ईन्सुलेसन विच्छेदन हुनसक्ने सम्भावना पनि कहिलेकाहीँ रहन्छ । तर चैतदेखि भदौसम्मको समय भने विद्युतीय समस्याका लागि प्रमुख कारण नै मानिन्छ । यस समयमा चट्याङ, बाढी, पहिरो, हावाहुरीलगायतले विद्युतको कनेक्सनमा बढीभन्दा बढी समस्या उत्पन्न गर्ने सम्भावना रहन्छ ।
प्राकृतिक कारणले कसरी जान्छ बत्ती ?
घिसिङका अनुसार गर्मी महिना सुरु हुने समयमा हावाहुरी, पानी र चट्याङले विद्युतको कनेक्सनमा विशेष समस्या उत्पन्न गराउँछन् । पानी परेको बेलामा ट्रान्समिशन लाईनको ईन्सुलेसनमा समस्या आउँछ र कनेक्सन कट हुने सम्भावना रहन्छ ।
यस्तै हावाहुरीले जङ्गल क्षेत्रमा रहेका ट्रान्समिशन लाईनमा रुख ढलेर तार विच्छेदन हुने, हावाले पोल वा टावर ढाल्ने लगायतका समस्याका कारण पनि कहिलेकाहीँ नेपालभरकै विद्युत जाने सम्भावना रहन्छ ।
यस्तै पानी मात्रै पर्ने सिजन असार र साउनमा झन बाढी र पहिरोको कारण पोल भत्किई कनेक्सनमा समस्या आएर विद्युत जाने समस्या हुन्छ । यस्तो समस्या केही समयका लागि नभएर बढीमा एक दिनसम्म पनि रहिरहन सक्छ ।
समस्या समाधान कसरी हुन्छ ?
प्राधिकरणले केही समस्या परेको खण्डमा समाधान गर्नका लािग भन्दै २४ सै घण्टा खटिनेगरी कर्मचारी तयारी अवस्थामा राखेको छ । कहिँकतै समस्या देखिनेवित्तिकै त्यस्ता कर्मचारीहरुले समाधान गर्नेछन् ।
तराईमा आएका विभिन्न समस्या जस्तै टावरमा आएको समस्या, ट्रान्समिसनमा आएका समस्या समाधान गर्न भने केही समय लाग्छ । तर हाल आएको समस्या भने प्राविधिक गडबढी मात्रै हो हालसम्म ठुलो समस्या ननिम्तिएको कुलमान बताउँछन ।
घिसिङका अनुसार हाल आईपरेको समस्या सामान्य समस्या हुन त्यस्ता समस्याहरु सिस्टमबाट नै समाधान गर्न सकिन्छ । कुनै स्थानमा पानी परेर तार टक्रिएपछि हावाहुरीका कारण मेन स्विच झरेर उक्त समस्या आईपर्छ जुन प्राविधिकहरुले केही समयमै समाधान गरिदिन्छन ।
‘लकडाउन भईरहेको बेला सबैभन्दा बढी आवश्यक भनेकै विद्युत र ईन्टरनेटको हुन्छ,’ घिसिङ भन्छन्, ‘यस्तो बेलामा बत्ती गएपछि ग्राहकहरु रिसाउनु स्वभाविकै हो ।’ तर बत्ती जाने समस्या कुनै व्यक्तिको इन्टेन्सनमा नभई प्रकृतिकै कारण भएको उनको भनाई छ । साथै फिल्डमा धेरे कर्मचारी खटाउन समस्या भैरहेको अवस्थामा केही समय बत्ती जाँदा प्राधिकरणलाई दोष दिनुभन्दा समस्या बुझिदिन समेत उनले ग्राहकसँग आग्रह गरेका छन् ।