Logo

लकडाउनकाबीच जलविद्युत् आयोजना निर्माण पुन संचालन, दाना सवस्टेशन र प्रसारण लाइनको काम पनि सुरु

लकडाउनकाबीच जलविद्युत् आयोजना निर्माण पुन संचालन, दाना सवस्टेशन र प्रसारण लाइनको काम पनि सुरु



काठमाडौं । कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण रोकिएको म्याग्दीका जलविद्युत् आयोजनाहरु करिब ३ सातापछि निर्माण शुरु भएका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, समुदाय र ठकेदार कम्पनीसँग समन्वय गरी सुरक्षाका उपाय अपनाएर करिब ३ सातापछि जलविद्युत् आयोजना निर्माणलाई अघि बढाइएको हो ।

निर्माण सामग्री, उपकरण, इन्धन र मजदुर भएका जलविद्युत् आयोजना निर्माणलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । ‘मजदुर र सामग्री भएका आयोजनालाई सञ्चालन गराएका छौं’, उनले भने, ‘निर्माण सामग्री र कच्चा पदार्थ आयातका लागि प्रदेश र संघीय सरकारमा पहल गरेका छौं ।’ उनका अनुसार ४० मेगावाट क्षमताको राहुघाट, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणलाई निरन्तरता दिइएको छ । २ सय २० केभी क्षमताको दाना सवस्टेशन र प्रसारण लाइन आयोजनाले पनि रोकिएको कामलाई निरन्तरता दिन लागेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सवस्टेशन र प्रसारण लाइन वैशाख महिनाभित्र चार्ज गर्ने तयारी छ । स्थानीय सरोकारवाला र समुदायको सहमतिमा आयोजनाको काम सञ्चालन गरिएको प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रोका प्रशासकीय अधिकृत मदन गिरीले जानकारी दिए । भारतीय ठेकेदार कम्पनी जयप्रकाश (जेपी) एशोसिएट्सका ५०० मजदुर आयोजनामा परिचालित छन् । चैत ११ देखि करिब ३ हप्तासम्म आयोजनाको काम रोकिएको थियो । काम नहुँदा मजदुर क्याम्पमा बसेका थिए ।

‘मजदुर, उपकरण र निर्माण सामग्री भएकाले समुदायमा असर नपुग्ने गरेर सुरक्षा सतर्कता अपनाएर काम अघि बढाएका हौँ’, रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले भने, ‘प्रशासन, सुरक्षा निकाय, गाउँपालिका, ठेकेदार र समुदायसँग समन्वय गरेका छौँ ।’ अन्नपूर्ण गाउँपालिकाको नारच्याङ स्थित ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् । रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाटको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण भइरहेको छ ।

मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना, डाँडाखेत र रातोढुङ्गा सवस्टेशन निर्माणाधीन छन् । धवलागिरि गाउँपालिकामा ५० मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण भइरहेको छ । मजदुर, प्राविधिक र कर्मचारी घर गएकाले निलगिरिखोला जलविद्युतको काम भने रोकिएको छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्रीखोलाको बाँध, टनेल, पेनस्टक परीक्षण र पावरहाउसमा उपकरण जडान भइरहेको छ ।

बेनी–जोमसोम, पोखरेबगर–घार, बेनी–दरवाङ, रत्नेचौर–बेनी सडक आयोजनाको काम भने रोकिएका निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले बताए । सडक, सिँचाइ, नदी नियन्त्रण र भवनका योजनामा काम गर्ने धेरै मजदुर घर गएका छन्/रासस

प्रतिक्रिया दिनुहोस्
MBL