काठमाडौं । बजारमा पछिल्लो केहि दिनयता खाना पकाउने ग्याँसको अभाव बढेको छ । नेपाल ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार पछिल्लो हप्ता भारतबाट नै कम मात्रामा ग्याँस आयात भएपछि नेपालमा ग्याँसको अभाव भएको अनुभव गरिएको हो । उनका अनुसार ग्याँस भित्र्याउने नेपालका प्रमुख २ नाका बरौनी र हल्दिया रिफाईनरीमा ग्याँस रिफाईन बन्द जस्तै भएको छ ।
नेपालमा जाडो महिनामा मासिक ४५ हजार टनभन्दा बढी ग्याँस खपत हुन्छ । तर हाल ४० हजारभन्दा कम मात्रामा मात्रै ग्याँस भारतबाट आयात भएको छ । पछिल्लो समय भारतमा पनि ग्याँस आयात कम हुँदा त्यहाँका रिफाईनरी समेत बन्द भएको अवस्था छ ।
यस्तो अवस्थामा ग्याँस व्यवसायीहरुले भने ग्याँसको अभाव हुन नदिन विभिन्न निकायसँग समन्वय गरिरहेको बताएका छन । ग्याँस उद्योग संघका अध्यक्ष भण्डारीका अनुसार नेपाल आयल निगमसँग यसको सहजीकरणका लागि समन्वय गर्ने काम जारी छ ।
यता नियमनकारी निकाय नेपाल आयल निगम भने त्यो काम व्यवसायीकै हुने भनेर बसेको छ । ‘नेपालमा ग्याँसको अभाव हुनुमा व्यवसायीहरुकै मुख्य हात रहन्छ’, नेपाल आयल निगमका उप प्रबन्ध निर्देशक शुशिल भट्टराइले भने । उनका अनुसार भारतीय ग्याँस बुलेटमा ग्याँस ल्याउने र भटाभट भरेर बजारमा बेच्न मात्रै जानेका छन व्यवसायीले ।
व्यवसायीलाई हाल नेपाल आयल निगमले ग्याँस आयात गर्नका लागि अनुमति दिएर मात्रै सबै जिम्मा दिनेगरेको छ । निगमका अनुसार हाल पनि ४० हजार टन ग्याँस प्रतिमहिना आईरहेकै छ । तर कतिले ग्याँस आयात पुगेन भनेर व्यवसायीले नेपाल आयल निगमलाई जानकारीसम्म दिएका छैनन ।
‘हामीलाई पनि भारतबाट कम ग्याँस लोड भएको जानकारी त आएको छ,’ उनले भने, ‘हाम्रो छुट्टै विभाग छ विभागले ईन्डियन आयल कर्पाेरेशनसँगको समन्वयमा सहजीकरणका कामहरु पनि गरिरहेकै छौं ।’
अहिले नेपाल सरकारसँग पेट्रोल, डिजेलजस्तै ग्याँसको छुट्टै भण्डार छैन । सोही अनुसार हाल नेपालमा ग्याँसको आयातदेखि वितरण गर्ने सबै कामको जिम्मा व्यवसायीले पाएका छन । हाल नेपालमा ५८ ओटा उद्योगहरुका ४ हजारभन्दा बढी ग्याँस डिलरहरु छन । जसमार्फत व्यवसायीले नेपालमा ग्याँस वितरण गरिरहेका छन ।
ग्याँस व्यवसायीका अनुसार ग्याँस आयातमा विभिन्न सहजीकरणका काम गरिरहेका कारण अबको १५ दिनभित्रमा ग्याँस आया सहज भई ग्याँस वितरण समेत सहज हुनेछ ।