Logo

स्वदेशी लगानीमा २२ अर्बको पहिरो, वैदेशिक लगानी भने ३१ प्रतिशतले वृद्धि

स्वदेशी लगानीमा २२ अर्बको पहिरो, वैदेशिक लगानी भने ३१ प्रतिशतले वृद्धि



काठमाडौं । नेपाली उद्योग क्षेत्रमा पछिल्लो समय स्वदेशी लगानी ह्वात्तै घटेको छ । चालू आर्थिक बर्षको पछिल्लो ५ महिनामा मात्रै स्वदेशी लगानीमा २२ अर्ब बढीको कमी आएको हो । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा चालू आवमा स्वदेशी लगानी प्रतिवद्धतामा २२ अर्ब २ करोड रुपैयाँ बराबरको कमी आएको हो ।

सरकारले लगानी आकर्षित गर्न विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहँदा स्वदेशी लगानीकर्तामा भने त्यसको नकारात्मक असर परेको छ । पछिल्लो समय सरकारले नै विदेशी लगानीकर्तालाई काखा र नेपाली लगानीकर्तालाई पाखा लगाउने जस्तो व्यवहार गरेका कारण त्यसको असर लगानी प्रतिवद्धतामा परेको एक उद्योगीले बताए ।

उद्योग विभागको पुष ११ गतेसम्मको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउन यता ८९ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा २२ अर्ब बढीले कम हो । गत आर्थिक बर्षको ५ महिनामा भने विभिन्न क्षेत्रमार्फत १ खर्ब ११अर्ब ९२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

चालु आर्थिक बर्ष गत बर्षको तुलनामा उत्पादनमुलक र उर्जामुलक क्षेत्रमा लगानी प्रतिवद्धता घटेका कारण समग्र लगानी प्रतिवद्धतामा कमी आएको हो । विभागको तथ्याङ्क अनुसार गत आवको ५ महिनामा मात्रै उर्जामुलक क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । तर चालु आवको सोही अवधिमा उर्जा क्षेत्रमा जम्मा ५२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस्तै गत आवमा उत्पादनमुलक क्षेत्रमा ३० अर्ब बढीको लगानी प्रतिवद्धता आएको थियो । तर चालू आवको सोही अवधिमा भने उक्त क्षेत्रमा लगानी प्रतिवद्धता खुम्चिदै १२ अर्ब रुपैयाँमा सीमित भएको छ ।

चालु आवको ५ महिनामा पर्यटन क्षेत्रमा भने उल्लेख्य मात्रामा स्वदेशी लगानी प्रतिवद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ । गत आवको ५ महिनामा ५ अर्ब ९४ करोड रुपैयाँ मात्रै लगानी प्रतिवद्धता आएको पर्यटन क्षेत्रमा चालु आवमा बढेर १६ अर्ब २८ करोड बराबरको लगानी प्रतिवद्धता आएको छ । चालु आवको ५ महिनामा दर्ता भएका १ सय ७९ उद्योगले १२ हजार ८७ जनालाई रोजगार दिने विभागको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक लगानी प्रतिवद्धता ३१ प्रतिशतले बढ्यो

स्वदेशी लगानी प्रतिवद्धतामा कमि आईरहँदा विदेशी लगानी प्रतिवद्धता भने ३१ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको महिनामा १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएकोमा चालु चालु आवको सोही अवधिमा प्रतिवद्धता बढेर ४० अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक बर्षको ५ महिनामा विभिन्न १ सय ४६ उद्योगमार्फत उक्त लगानी भित्रिएको हो । विभागको तथ्याङ्क अनुसार उर्जा क्षेत्रका ५ ओटा उद्योगमार्फत ११ अर्ब बराबरको लगानी भित्रदा सूचना तथा प्रविधि क्षेत्रमार्फत भने ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको हो । यस्तै पर्यटन क्षेत्रमा पनि उक्त अवधिमा ७ अर्ब ८६ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ । उक्त लगानीमार्फत ७ हजार ६ सय ९६ जनाले रोजगार पाउने विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक बर्षको ५ महिनामा पर्यटन, सेवालगायतका क्षेत्रमा विदेशी लगानी प्रतिवद्धता न्यून थियो । तर चालु आवमा भने उक्त क्षेत्रमा प्रतिवद्धता बढेको छ ।

९ दिनमा २५ करोड वैदेशिक लगानी

पुष महिनाको ९ दिनमा मात्रै २५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार पुष १ गतेदेखि ९ गतेसम्म विभिन्न ५ ओटा उद्योगमार्फत २५ करोड रुपैयाँ बराबरको बैदेशिक लगानी प्रतिवद्धता आएको हो । गत बर्षको सोही अवधिमा भने ४३ करोड ३० लाख वैदेशिक लगानी स्वीकृत भएको थियो ।

यस्तै पुष महिनाको ११ दिनमा ४ अर्ब बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको छ । उक्त अवधिमा विभिन्न ११ ओटा उद्योगमार्फत ४ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी स्विकृत भएको हो । वैदेशिक लगानी पर्यटन क्षेत्रमा आकर्षित हुँदा स्वदेशी लगानी भने सेवा क्षेत्रमा आकर्षित भएको पाईएको छ ।

उक्त अवधिमा सेवाक्षेत्रका विभिन्न ६ ओटा उद्योगमार्फत १ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी आएको छ । यस्तै पर्यटन क्षेत्रको एउटा उद्योगमार्फत २५ करोड रुपैयाँको लगानी स्वीकृत भएको तथ्याङ्कमा उल्लेख छ । पुसको पछिल्लो ११ दिनमा ११ ओटा उद्योगमार्फत आएको लगानीबाट ९ सय ७४ जनाको लागि रोजगारी सिर्जना गर्ने उल्लेख छ ।

गत बर्षको सोही अवधिमा १२ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको थियो । तथ्याङ्क हेर्दा गत बर्षको सोही अविधिको तुलनामा यो बर्ष पुसको ११ दिनमा ३ गुणाले प्रतिवद्धतामा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL